Sunday, January 8, 2017

अन्यभाषा सम्बन्धि बाइबलिय शिक्षा के हो?"

२०६४ साल तिर म काठमान्डौ को एक बाइबल कलेज मा अध्ययनरत थिएँ, त्यो बेला मलाई धेरै कुरामा होसियार रहन र सिक्ने मौका मिलेको थियो | मैले माथि जुन शिर्सक राखेर यो लेख लेखिरहेको छु त्यसमा मा केन्द्रित हुन चाहन्छु र त्यो बेला बाइबल कलेज मा के के भयो भन्ने कुरा को विस्तृत विवरण भन्दा पनि  एउटा चाख लाग्दो घटना प्रस्तुत गर्न चाहन्छु जुन आजको विषयबस्तुसंग सम्बन्धित छ, एकदिन कलेज मा दक्षिन कोरिया बाट एक जना प्रबक्त्ता "पवित्र आत्मा को सेवाकाइ" लिएर देखा पर्नु भयो अनि हामी विद्यार्थी हरु निक्कै उत्साहित थियौं विशेस म चाहिं निक्कै नै आतुरी थिए अब के हुने होला भनेर किनकि मेरो इसाई जीवनको गत ४ वर्ष मा निक्कै नै 'पवित्र आत्मा को काम भन्दै अनौठ क्रियाकलापहरु' बारम्बार देख्दै आएको थिएँ जुन क्रियाकलाप मेरो जीवन मा नभएर अरु को जीवन मा थिए अनि त्यो कुरा ले मेरो मस्तिस्क मा एउटा ठुलो प्रश्न चिन्ह खडा गरेको थियो कि "ति मानिस हरु मध्ये म चाहिं किन होइन?" एकताका मैले मेरो पास्टर लाइ पनि सोधेको थिएँ -"पास्टर बा यो उफ्रिने कराउने,अनि रुदै पछारिएर वेहोस हुने, र बुज्दै नबुजिने सब्द हरु के हुन्?" उहाँले सरल जवाफ दिनु भयो -"पवित्र आत्मा को काम" मैले फेरी प्रश्न तेर्स्याएको थिएँ -"अनि मेरो जीवन मा चाहिं किन हुदैन?" उहाँको जवाफ यस्तो थियो -"असल जीवन जिउनु पर्छ र उहाँको नजिक जानु पर्छ" | मैले आफ्नो सम्पूर्ण कुरा त्यागेर घर परिवार त्यागेर, आफ्नो आफन्त अनि सारा कुरा छोडेर येशु को पछि हिड्न निर्णय लिएको मान्छे ले पवित्र आत्मा नपाएको कुरा ले आफ्नो इसाई जीवन अधुरो रहेको भान भयो | मैले सकेसम्म सुन्यता मा रहेरै प्रभुको नजिक जाने कोशिस गरेँ, उहाँकै निम्ति आफु रित्तिन कुनै कसर बाकीं राखिन, बरु सताइन, हेपिन, मारिन समेत तत्पर रहेँ, गुप्त उपवाश र प्रार्थना को लेखा त प्रभु संग होला तर पनि नता शरीरै काप्यो नता लछार-पछार नै भएँ नता ला..ला.. लु..लू.... आदि इत्यादी | त्यसैले प्रश्न प्रश्नै रह्यो "म चाहिं किन होइन?"

अब कलेज मा सेवाकाइ सुरु भयो कोरियन वक्त्ता आफ्नो भासामा बोल्न सुरु गर्यो र भाषा उल्था गर्ने पनि कोरियन महिला थिइन् तर नेपाली मा बोल्न सक्ने, तब एकै छिनमा वक्त्ता ले भन्नु भयो -"खडा हुनुहोस र पवित्र आत्मा ले भरिनुहोस" र वक्त्ता तुरुन्तै उफ्रिन सुरु गर्नु भयो तब प्राय: ८०% विद्यार्थी जराक्जुरुक उठेर उफ्रिदै काप्दै कोहि लछार पछार हुदै बा...बा..बा..बा...कि रारारारा ला ला ला जस्ता उच्चारण गर्न थाल्यो मैले तुरुन्तै खडा भएर प्रार्थना गरेँ "प्रभु तपाई जान्नु हुन्छ मेरो जीवन अनि मेरो हृदय कति सम्म आतुर छ तपाई को आत्मा को बरदान पाउन लाइ यदि तपाई ले मलाइ योग्य सम्झिनु हुन्छ भने एउटा बरदान दिनुहोस" तर म मा कुनै चिन्ह देखा परेन मैले अझै सोचें सायद म अझै योग्य भएको छैन यी बरदान हरु पाउनलाई | म संगै उभियेका दायाँ पट्टि को मित्र पनि डरलंगइ ढल्यो र पानी बाहिर को माछा जस्तै भट्याक-भट्याक गर्न थाल्यो अनि एकै छिन मा वायाँ पट्टि को मित्र पनि ठहरै ढल्यो र छारे रोग लागेको जस्तै थर्रर काप्न थाल्यो अनि अरु हरु पनि त्यहि हालत मा पालै पालो ढल्दै थिए करिब १० जना भन्दा कम हामी आफ्नो स्थान मा खडा भएर सामान्यतय प्रार्थना गरिरहेका थियौं | करिब १ घण्टा सम्म पनी त्यो चर्तिकला रोकिएको थिएन र वक्त्ता आफै शान्त भएर भन्नुभयो -"अब ब्रेक को समय" अनि सबै जना फेरी पुन सामान्य हालत मा आए अनि हामी होस्टल रूम प्रवेश गर्यौं तर मैले अगि मेरो दायाँ वायाँ ढल्ने परममित्र हरुसंग मेरो हृदय देखि को चासो को विषय लाइ लिएर प्रश्न गरेँ -"अगि तिमि हरुले के अनुभव गरेउ र ढल्न पुगेउ?" एउटा ले प्याच्च जवाफ दियो -"तेती धेरै जना सबै ढलीरहेका थिए अनि म एक्लै कसरि उभिरहनु लाजै मर्दो" अनि अर्कोले जवाफ दियो -"जो प्रभुमा असल छ त्यसमा साचिकै पवित्र आत्मा आउनुहुन्छ" | यी दुइ जवाफ बाट मैले अड्कल गर्न सकें तिनीहरु दुवै जनाको क्रियाकलाप झुटा थियो एउटाको अविनय मात्र थियो किनकि पहिलो ले सिधै जवाफ दियो कि उ मात्र अविनय गर्दै थियो अनि अर्को ले भने जस्तो असल जीवन उसको थिएन किनकि एक हप्ता अघि मात्र उसले होस्टल को मित्र को ब्याग बाट लगभग ५०० रुपैयाँ चोरी गरेर होस्टेल प्रसासन बाट अन्तिम चेतावनी दिएको थियो अनि हरेक सनिबार नक्किपोट को सानो भट्टी मा रक्सि पिउछ भनेर सबैलाई थाहा थियो,  तब मैले आफैलाई भने कि त्यो भन्दा त म असल छु किनकि म आफुलाई राम्रो संग जान्दछु अनि उसको जीवन पनी देखिएकै थियो | मैले सोचें कि पकै पनी परमेश्वर को वचन र यी मानिस हरुमा विच केहि गलत-बुझाई भएको हुनुपर्दछ तब मेरो होस् खुल्यो कि मैले वास्तब मा के गर्नु पर्ने रहेछ भनेर, किनकि मैले गत ४ वर्ष सम्म मान्छेहरु को भनाइ मा पछि लागेँ र त्यो क्रियाकलाप मा सामेल हुने प्रयत्न गरेँ तर बारम्बार असफल रहेँ तर बाइबल मा परमेश्वर को वास्तविक शिदान्त के हो भनेर जान्ने कोशिस समेत गरिन | त्यो दिन पछि मैले बाइबल मा परमेश्वर को रहस्य, सत्य शिदान्त, र सुद्ध सु-समाचार लाइ छान्ने कोशिस गरेँ किनकि मैले ति मानिस हरु र त्यस्ता क्रियाकलाप गलत पाएता पनी मेरो विस्वास परमेश्वर र उहाँको वचन सत्य छ भन्ने मा थियो |

कलेज मा मैले केहि समय बिताएँ र म हरेक मण्डली भित्र को सत्य र नकली मिस्त्रित शिदान्त हरुलाई कसरि सुद्ध पर्न सकिन्छ भन्ने खोज र प्रार्थना मा लागिरहें | मेरो खोज अघ्ययन र प्रार्थना स्वरुप मैले पत्तो लगाएँ कि "शु-समाचार" कति हद सम्म दुसित भएको रहेछ भनेर, म हरेक दिन नया इसाई, नया मण्डली, नया सेवाकाइ मा सामिल हुन्थे र उनीहरुको क्रियाकलाप देख्ने बित्तिकै बाइबल को सत्य बचन ले स्पस्ट गराउथ्यो कि मानिस हरु कति सम्म नक्कल पारिरहेका छन्, म देख्न सक्थे कि मानिस हरुको आत्मिकीपन को मुखुण्डा को पछि झुटा इसाई हरु, जो हरु बाइबल को सत्य शिदान्त नबुजि मण्डली प्रसासन को आफ्नै शिक्षा र शिदान्त मा अल्झिएर गलत नक्कल गरिरहेका छन् |

मैले यति लेखिरहदा कति जनालाई आपत्ति भैसक्यो अनि कति लाइ रिसले सिमा नागिसक्यो र कतिको मन मा प्रश्नले वादविवाद निम्त्याइसक्यो त्यो मलाई थाहा छ तर अझै यो लेख पुरै पढ्दै जानुहोस र आजको विषय बाइबल द्वारा छर्लंग हुनेछ र के सत्य हो के गलत हो त्यो स्पस्ट हुनेछ | म इसाई हरु भित्र गुम्सिएको तितो सत्यलाई ओकल्दैछु र सत्य सधै तितो हुन्छ तर तितो ग्रहण गर्न सक्ने निको हुन्छ किनकि औसधि तितो हुन्छ | त्यस्ता धेरै क्रियाकलाप मैले मेरो गत १२ बर्सको इसाई जीवन मा हजारौं देखें, मण्डली भित्र देखें आफ्नो देश मा देखें, विदेश मा देखें अनि अनुसन्धान गरेँ, भोगेँ, खोजें, अध्ययन गरेँ, विभिन्न व्यक्तित्वहरुको आ-आफ्नै शिदान्त हरु पढें, अनि बाइबल संग दाजें कति मिल्दो जुल्दो थिए भने प्राय मानिस हरुको आफ्नै सिक्षा र शिदान्त हरु थिए | यसै विषय मा कुरा गर्दा एकपल्ट म भियतनाम को एउटा ठुलो मण्डली मा प्रचार गर्न को लागि आमन्त्रित थिएँ र त्यहाँ के भयो म बताउदै छु:
मण्डली मा करिब ३००० जनाको जमात मा आराधना सुरु भयो अनि त्यस्तै चर्तिकला सुरु भैसकेको थियो अनि मण्डली को पास्टर आएर मलाई सुटुक्कै भन्नु भयो -"हजुरको आगमन ले विस्वाशी हरु उत्साहित छन् र खुसि छन्" मैले यसलाई यसरि बुझें "मेरो उपस्थितिले तिनीहरुको हर्कत मलाई देखाउन उत्साहित छन्" |
आराधना सकियो मैले आफ्नो प्रचार सुरु गर्न भन्दा पहिले आफ्नो परिचय र सेवाकाइ को विषय मा सक्षेप मा बताएँ त्यसपछि मैले उत्साहित स्वर मा सोधें -"खुशी हुनुहुन्छ?" निक्कै उत्साहित र हौसला को साथ "खुसि छौं हल्लेलुया" आवाज ले गुञ्जियो | मैले फेरी प्रश्न गरेँ -"अन्य भाषा मा बोल्ने कति जना हुनुहुन्छ हात उठाउनुहोस" १००% हात तँ छाड म छाड गर्दै उठ्यो फेरी प्रश्न गरेँ -"अन्य भाषा नजान्ने कति जना हुनुहुन्छ?" अब एउटा हात पनी उठेन, मलाई अलिक अचम्म लाग्यो अरु मण्डली मा त कमसे कम एक दुइ जना ले अन्य भाषा आउदैन भन्थे तर यहाँ लगभग ३००० जनाले नै अन्य भाषा मा बोल्ने गरेको दाबी गरेको पाइयो | त्यो कुरालाई पछि राखी फेरी अर्को प्रश्न सोधें -"कति जनालाई अन्य भाषाको अर्थ खोल्न आउछ?" अचम्म को कुरा ३००० जना मा एक जनाले पनी हात उठाएनन् सबै चुप रहे तब मैले बाइबल खोल्न भने र १ कोरन्थी १४: २७-२८ र १ कोरन्थी १४: २३ पढ्न भनेर ६ जनालाई चर्को स्वरमा पालै पालो आग्रह गरेँ | (१ कोरन्थी १४:२७-२८- कसैले अन्य भासामा बोल्छ भने दुइ जनाले मात्र अथवा बढीमा तिन जनासमेतले पालोसङ्ग बोलून र एक जनाले त्यसको अर्थ खोलोस, तर अर्थ खोल्ने त्यहाँ कोहि नभए बोल्ने मानिस मण्डलीको सभामा चुप रहोस") | बाइबल को यो पदहरु वाचनपछि सबै जना अनौठो तरिकाले मतिर द्रिस्यवालोकन गरिरहेका थिए र मैले त्यहि वचन बाट प्रचार सुरु गरेको थिएँ र प्रचार पछि मैले अन्तरक्रियात्मक तरिकाले प्रचारें जसद्वारा उनीहरुको जिज्ञासा सोध्न सक्थे र जवाफ मिल्थ्यो, कार्यक्रम को अन्तिम दिन उनीहरुलाई हाम्रो कार्यक्रम र बाइबलिय सिक्षा सम्बन्धि सिकेका कुराको गवाही भन्ने समय दिएँ धेरै जना बदलिएको, सिकेको र धेरै कुरा स्पस्ट भएको बताए किनकि जम्मा गरि अन्यभासा लगायत ५ वटा विसयमा प्रचार गरिएको थियो र अन्तिम मा मैले आराधना सुरु गरेँ त्यो आराधना अत्यन्तै आशिसमय, आन्ददायी हुन पुग्यो तर त्यहाँ "कारारा...लारारा बाबाअर्रारा" जस्ता आवाज पटक्कै सुनिएन उनीहरुको आखामा मैले हृदय देखि को आशु देखेको थिएँ त्यो एउटा भ्रम बाट को परिवर्तन र आत्मिक जागृति को सेवाकाइ थियो मैले चाहेको त्यहि थियो | र अन्तिम मा पास्टर ले भन्नु भयो -"प्रभुलाई धन्यवाद होस् हामीले धेरै कुरा सिक्ने मौका पायौं धेरै कुरा छर्लंग भयो विशेस अन्य भाषा सम्बन्धि स्पस्ट भयो, हामीले सोचेको थियौं अन्य भाषा सबैले बोल्नु पर्छ तर वास्तविक अन्य भाषा थाहा थिएन अनि मण्डली मा हामीले अन्य भाषा सिक्ने कक्षा पनी संचालन गरेका छौं अब त्यो बन्द गरिने छ र वास्तविक अन्य भासा को निम्ति प्रार्थना गरिने छ" तब म छक्क परें र मलाई बल्ल थाहा भयो कि १००% हात अन्य भाषा बोल्ने दाबी गर्दै उठ्नु कारण, यस्ता मण्डली पनी रहेछन जसले अन्यभासा को कक्षा संचालन गरेर सिकाइरहेका छन् तर बुज्ने एक जना पनी छैन |

अब आउनुहोस मेरो जीवन को केहि अनुभव हरु पछि "अन्य भाषा" सम्बन्धि वास्तविक बाइबलिय शिदान्त के हो?
मैले माथि त्यति लेखिरहदा तपाई हरुलाई लाग्न सक्छ कि म "अन्य भाषा" को विरोधी हो अथवा म अन्य भाषा मा विस्वास गर्दिन, अहँ होइन पटक्कै होइन म अन्य भाषा मा विस्वास नगर्ने होइन तर म त झन् मेरो सारा हृदय ले नै विस्वास गर्छु र अन्य भाषा मा बोल्छु र अन्य भासमा बोल्ने लाइ मनाही पनी गर्दिन जस्तो बाइबल मा लेखिएको छ "१ कोरन्थी १४:३९ -यसकारण .............., र अन्य भाषा मा बोल्नेहरुलाई मनाही नगर" | तर हामीले जान्नु पर्ने कुरा वास्तव मा अन्य भाषा के हो त? बाइबल ले अन्य भाषा भनेर कस्तो भाषा लाइ उजागर गर्दछ ? आउनुहोस हामी सरसर्ती पढौं पेंतिकोस को दिन मा के - के भएको थियो :
प्रेरित २: १-१२ -"जब पेंतिकोसको दिन आयो, तिनीहरु सबै एकै ठाउँमा भेला भएका थिए | २ अनि स्वर्गबाट अचानक ठुलो बताशको झोक्काजस्तै एउटा आवाज आयो, र तिनीहरु बसेको पुरा घरै भरिदियो | ३ आगोका जिब्रहरुजस्ता तिनिहरुकहां देखा परे, र भाग-भाग भएर तिनीहरु हरेकमाथि बसे | ४ अनि तिनीहरु सबै जना पवित्र आत्माले भरिए, र पवित्र आत्माले तिनीहरुलाई दिनुभएको उच्चारण बमोजिम तिनीहरु अन्य भाषा हरु मा बोल्न लागे | ५ स्वर्ग्मुनी भएको हरेक देशबाट इस्वरभक्त यहुदीहरू त्यस बेला यरुशलेममा बसेका थिए | ६ तब यो आवाज सुनेर भिड जम्मा भयो | तिनीहरु आश्चर्यचकित भए, किनकि हरेकले आफ्नो-आफ्नो भाषा मा तिनीहरु बोलिरहेका सुन्यो | ७ तिनीहरु सबै आश्चर्चाकित भए, र अचम्म मानेर भन्न लागे, "के यी बोल्नेहरु सबै गालिलिहरु होइनन र? ८ त कसरि तिनीहरु हरेकले हाम्रा आफ्ना मात्रिभासामा बोलेको हामी सुन्छौं? ९ हामीहरु यहाँ पार्थिहरु, मादिहरु र एलामिहरु, र मेसोपोटामीयाका, यहुदियाका, कापाडोकियाका, पोंटस र एशियाका बासिन्दाहरु छौं | १० अनि फ्रिगिया, पाम्फिलिया, मिश्र र कुरेनिमा पर्ने लिबियाका कतिपय क्षेत्रहरु र रोमबाट आएका यहुदी र यहुदी मत मान्नेहरु दुवै छौ, ११ क्रेट्का बासिन्दाहरु र अरबीहरु पनी छौ, अनि हामी आ-आफ्ना भाषा मा परमेस्वरका महान कार्यहरुको चर्चा तिनीहरुले गरिरहेका सुन्दैछौं |" १२ तिनीहरु सबै आश्चर्चकित भए र अन्योलमा परेर एउटाले अरकालाई यसो भन्न लागे, "यसको अर्थ के हो?"

अब मेरो प्रश्न -"पवित्र आत्मा आएपछि तिनीहरुले कस्तो भाषाहरु मा बोले?" जवाफ को निम्ति पढ्नुहोस एकपटक पद ७ देखि ८
"तिनीहरुले क-कसको भासमा बोले?" जवाफ को निम्ति एकपटक पढ्नुहोस पद ८ देखि ११
"के तिनीहरुले बोलेको अन्य भाषाहरु  को अर्थ जान्ने हरु पनी थिए?" थिए, फेरी पढ्नुहोस पद ७ र ८,
जब तिनीहरुले अन्य भाषा हरुमा बोले ति भाषा हरु कुनै एउटा अनौठो भाषा थिएन तर धेरै भाषा हरु थिए (पद ४ अनुसार "भाषा" होइन तर "भाषा हरु") र पवित्र आत्मा ले दिनुभएको उच्चारण बमोजिम जुन जुन भाषा हरु तिनीहरु ले बोले त्यी भाषा हरु  त्यहाँ हुने मानिस हरु मध्ये का भाषा हरु थिए त्यसैले ति मानिस हरुले तिनीहरुले के बोल्दै थिए बुजिहाले र भिडमा जम्मा हुने ले त्यी बोलिरहेका भाषा हरु बुजेर भने - पद ७-८ "७ तिनीहरु सबै आश्चर्चाकित भए, र अचम्म मानेर भन्न लागे, "के यी बोल्नेहरु सबै गालिलिहरु होइनन र? ८ त कसरि तिनीहरु हरेकले हाम्रा आफ्ना मात्रिभासामा बोलेको हामी सुन्छौं?" अनि तिनीहरुले बोलेको भाषा हरु बुज्ने हरु कहाँ - कहाँ का थिए त भन्दा - पद ९-११ "९हामीहरु यहाँ पार्थिहरु, मादिहरु र एलामिहरु, र मेसोपोटामीयाका, यहुदियाका, कापाडोकियाका, पोंटस र एशियाका बासिन्दाहरु छौं | १० अनि फ्रिगिया, पाम्फिलिया, मिश्र र कुरेनिमा पर्ने लिबियाका कतिपय क्षेत्रहरु र रोमबाट आएका यहुदी र यहुदी मत मान्नेहरु दुवै छौ, ११ क्रेट्का बासिन्दाहरु र अरबीहरु पनी छौ, अनि हामी आ-आफ्ना भाषा मा परमेस्वरका महान कार्यहरुको चर्चा तिनीहरुले गरिरहेका सुन्दैछौं |" अब यसबाट के स्पस्ट हुन्छ भन्दा तिनीहरुले पेंतिकोस को दिन मा बोलेका भाषा हरु यहि दुनिया का भाषा हरु थिए र जुन भाषा हरु बुज्ने व्यक्ति हरु पनी थिए अनि केहि नाबुज्ने हरु पनी थिए जसले तिनीहरुलाई नयाँ मध्य ले मातेका भने (पद १३) | यी सबै त भए अन्य भाषा हरु क -कसले बोले  र कस्ता भाषा हरु थिए भन्ने कुरा तर बाइबल को आज्ञा के छ अन्य भाषा हरु मा बोल्ने सम्बन्धि भन्ने कुरा फेरी बाइबल बताई हेरौं :
प्रेरित पावल ले पवित्र आत्मा को बरदान हरु मंध्ये अन्य भाषा हरु मा बोल्ने कुरालाई पनी जोड दिएको कुरा उनको पत्र हरु मा पाउछौं अनि पावल ले आफैले पनी आफ्नो विसयमा स्विकार्नु भएको छ -"१ कोरन्थी १४:१८ -म परमेस्वर्लाई धन्यावाद चढाउछु, किनकि तिमीहरु सबैभन्दा बढी म अन्य भाषा मा बोल्दछु" किनकि पावल प्रेरित हरु मध्ये एक प्रमुख थिए अनि विभिन्न देशको विभिन्न मण्डली र ठाउं हरुमा यत्र गरेको कुरा हामी प्रेरित को पुस्तक मा स्पस्ट पाउछौं र पक्कै पनी उहाँले विभिन्न भाषा जानेको हुनु पर्छ र उहाँले स्विकार्नु भयो कि आफु पनी अन्य भासमा धेरै बोल्ने गरेको कुरा | तर जब मण्डली मा अन्यभासा हरु मा बोल्ने कुरा उठ्छ त्यहाँ एउटा दायरा र नियम छ र पावल प्रेरित ले नै भन्नु भए झैँ -"१ कोरन्थी १४:४० तर सबै काम शिष्टतापुर्वक र सुब्यबस्थित ढंगले हुनुपर्छ" | यदि मण्डली मा कसैले अन्य भाषा मा बोल्दछ भने त्यो मण्डली मा पवित्र आत्मा को एउटा मात्र बरदान हुदैन किनकि ख्रिस्ट को मण्डली सबै बरदान ले पूर्ण भएको हुन्छ १ कोरन्थी १२: ४-११ -"वरदान हरु विभिन्न किसिमका छन्, तर पवित्र आत्मा एउतै हुनुहुन्छ | ५सेवाहरु धेरै थरिका हुन्छन, तर प्रभु एउतै हुनुहुन्छ | ६ कामहरु धेरै किसिमका छन्, तर उनी परमेश्वर ले हरेकलाई ति काम गर्ने प्रेरणा दिनुहुन्छ | सबैका हितको लागि नै पवित्र आत्मा को काम प्रकट हुन हरेकलाई दिइएको छ | ८ कसैलाई पवित्र आत्माद्वारा बुद्दिका कुरा बोल्ने, कसैलाई उनै पवित्र आत्मा अनुसार ज्ञानका कुरा बोल्ने, ९ कसैलाई उनै पवित्र  आत्मा द्वारा विश्वास गर्ने, कसैलाई उनै एक पवित्र आत्माद्वारा रोग निको पर्ने वरदान हरु दिइएका छन्, १० कसैलाई आश्चर्य कामहरु गर्ने, कसैलाई अगम्वानी बोल्ने, कसैलाई आत्माहरु छुट्याउन सक्ने, कसैलाई भिन्न भिन्न किसिमका भाषा हरु बोल्ने, कसैलाई चाहिं ति भाषा हरुको अर्थ खोलिदिने | तर यी सबै उनी एक पवित्र आत्मा का काम हरु हुन् | उहाँले हरेकलाई उहाँको इच्छा अनुसार वरदान दिनुहुन्छ |"
 यी त भए पवित्र आत्मा को वरदान मण्डली को निम्ति जुन वरदान हरु हरेक लाइ भिन्न भिन्नै दिनुहुन्छ तर परमेश्वर को मण्डली मा यस्तो कहिले पनी हुदैन कि अन्य भाषा हरु मा मात्र बोल्ने, प्रचार मात्र गर्ने, रोग हरु निको मात्र पार्ने...आदि इत्यादी तर उहाँको बरदान हरु समानुपातिक तरिकाले उहाँको मण्डली मा काम गर्दछ | के अचम्म लाग्दैन तपाइलाई करिब ३००० जनाले अन्य भाषा मा बोल्ने तर एक जना पनी अर्थ खोले व्यक्ति नहुने! एक जना पनी रोग निको नपार्ने! त्यो पवित्र आत्मा द्वारा को अन्य भाषा हुन सक्दैन जहाँ कोहिले पनी बुज्न सक्दैन, अनि त्यो पवित्र आत्मा को अन्य भाषा हरु हुन सक्दैन जहाँ नाबुज्ने तरिकाले बर्बराउछ मात्र, किनकि बाइबले अन्य भाषा हरु मा बोलेन आज्ञा दिएको छ हो तर यदि त्यहाँ अर्थ खोल्ने व्यक्ति छैन भने चुप रहने आज्ञा पनी त दिएको छ १कोरन्थी १४:२७-२८- कसैले अन्य भासामा बोल्छ भने दुइ जनाले मात्र अथवा बढीमा तिन जनासमेतले पालोसङ्ग बोलून र एक जनाले त्यसको अर्थ खोलोस, तर अर्थ खोल्ने त्यहाँ कोहि नभए बोल्ने मानिस मण्डलीको सभामा चुप रहोस" | र प्रेरित पावल ले बाइबल मा उल्लेख गर्नु भएको अन्य भाषा हरु कुनै अलौकिक भाषा हरु नभएर एक जना ले बोल्दा अर्को ले बुज्न सक्ने भाषा हरु हुन्, जसको बिसय मा उहाँले भन्नु भयो -"१ कोरन्थी १४:१० संसारमा शायद धेरै किसिम का भाषा हरु छन् | ति कुनै पनी अर्थहीन छैनन् " अनि फेरी भन्नु हुन्छ पावल -"१ कोरन्थी १२:१० -"पवित्र आत्मा का वरदान हरु .........कसैलाई भिन्न -भिन्न किसिमका भाषा हरु बोल्ने, कसैलाई चाहिं ति भाषा हरुको अर्थ खोलिदिने |" त्यसैले बाइबलिय शिदान्त अनुसार पवित्र आत्मा को अन्य भाषा हरु एउटा मात्र भाषा होइन तर यस संसार मा भएका विभिन्न भाषा हरु हुन् जुन प्रेरित पावल ले पनी बोल्नुहुन्थ्यो जुन भाषा हरुको अर्थ खोल्न सकिन्छ | म लेखक आफै पनी ५ वोटा भासामा बोल्न सक्छु तर यदि त्यहाँ भाषा को अर्थ खोल्ने छैन भने म बोल्दिन, यदि नेपाल को कुनै मण्डली मा म प्रचार गर्न गएँ भने म कोरियन भासमा प्रचार गर्न वा बोल्न सक्दिन या त म भारत मा गएर इन्डोनेसियन भासमा बोल्न सक्दिन तर यदि मण्डली मा कोहि ति भाषा हरु को अर्थ खोल्न जान्दछ भने म ति भाषा हरु मा पनी प्रचार गर्न सक्छु नत्र चुप बस्छु | र अन्य विभिन्न भाषा हरु जो कोहि ले सजिलै सिक्न सक्दैन किनकि परमेश्वर को पवित्र आत्मा ले सहायता गर्नु भएन भने लगभग यो असम्भव नै छ तर यदि उहाँ जान्नु हुन्छ तपाई लाइ त्यी भाषा हरुको खाचो छ सेवाकाइ को निम्ति भने भाषा हरु सजिलै संग तपाई मा प्रवेश हुन्छ | र एउटा मण्डली मा कोहि लाइ ग्रीक भाषा, कोहीलाई अंग्रेजी भाषा, कोहीलाई चाइनिज भाषा मा बोल्नु आउछ भने सबैले आ-आफ्नै भासमा बोल्दा कस्तो सुनिन्छ? पक्कै पनी अरु हरुले पागल भन्छ जस्तो बाइबल मा लेखिएको छ -"१ कोरन्थी १४:२३ -यदि जम्मै मण्डली भेला भएर हरेकले अन्य भाषा मा बोल्यो भने, र विस्वास नगर्ने मानिस हरु र नबुझ्ने हरु त्यहाँ आए भने के तिनीहरुले तिमीहरुलाई बौलाहा भन्ने छैनन् र?" त्यसैले यो आज्ञा सहि छ -"१ कोरन्थी १४:२७-२८- कसैले अन्य भासामा बोल्छ भने दुइ जनाले मात्र अथवा बढीमा तिन जनासमेतले पालोसङ्ग बोलून र एक जनाले त्यसको अर्थ खोलोस, तर अर्थ खोल्ने त्यहाँ कोहि नभए बोल्ने मानिस मण्डलीको सभामा चुप रहोस" |

निस्कर्ष : यदि तपाई ले सेवाकाइ गर्दै गरेको मण्डली मा हजारौं ले अन्य भाषा मा बोलेको भन्दै ..."लालालालाला रररारा होरेबबबा"... आदि इत्यादी जस्ता होहल्ला गर्छन भने र त्यहाँ त्यसको अर्थ खोल्ने कोहि छैन भने त्यो मण्डली को सिक्षा झुटो हो, यदि मण्डली को लगभग सबैले त्यस्ता होहल्ला मचाउछन तर आत्मिक भजन, शिक्षा, प्रकाश, भाषा अर्थ खोलाइ जुन आत्मिक ब्रिदी को निम्ति गरिन्छ (१ कोरन्थी १४:१७) ति कुराहरुलाई प्राथमिकता दिदैन भने त्यो मण्डली को प्रसासन झुटो हो, यदि तपाई को पास्टर ले आफ्नो मण्डली मेरो मण्डली म स्थापक व्यक्ति भनेर दाबी गर्छ भने त्यहाँ परमेश्वर को होइन त्यहि व्यक्ति को सिक्षा पाउनुहुनेछ किनकि त्यो मण्डली परमेश्वर को होइन तर व्यक्ति को हो र त्यो झुटा हो, यदि तपाइले बाइबलको कुरा बिपरित मण्डली मा पाउनुभयो र पास्टर संग कुरा राख्दा तपाइलाई उल्टै झुटा भन्न सक्छ किनकि तिनीहरु असल गोठाला होइनन अनि तिनीहरुको विषय मा यस्तो लेखिएको छ -"यसैया ५६:११ -तिनीहरु त साह्रै भोकाएका कुकुर हरु हुन् | तिनीहरु कहिल्यै अघाउदैनन | ति अबुझ गोठालाहरु हुन् |" त्यसैले आज विचार गर्नुहोस कि तपाई परमेश्वर ले स्थापना गर्नु भएको मण्डली मा हुनुहुन्छ या कुनै व्यक्ति द्वारा स्थापना गरिएको मण्डलीमा, यदि तपाई मानिस को मण्डली मा हुनुहुछ भने मानिस कै शिक्षा मा र अ-बाइबलिय क्रियाकलाप गरिरहनु भएको छ जुन तपाइलाई थाहा पनी हुदैन तर परमेश्वर को मण्डली भित्र मात्र परमेश्वरको सत्य शिक्षा-शिदान्त हरु सिकाइन्छ र पालन गर्न सिकिन्छ | यदि तपाइलाई लाग्छ तपाई सत्य शिक्षा सत्य मण्डली, सत्य संगति, र सत्य प्रभुको घर खोज्दै हुनुहुन्छ भने आजै त्यस्तो मण्डली बाट बाहिर निस्किनुहोस जुन मण्डली महानगरी बेस्या बेबिलोन को छोरी हरु हुन् अनि तिनीहरु नाश हुन गइरहेका छन जसो अगमवानी ले भन्छ -"प्रकाश १८:२ देखि ४ पद - तिनले यसो भनेर शक्तिशाली सोरले कराए: "महानगरी बेबिलोन को पतन भयो यो महानगरी भुतहरुको  वासस्थान, हरेक अशुद्द आत्मा, र हरेक अशुद्द तथा घृणित पक्षिको अखडा भएको छ | किनकि सबै जातिहरुले त्यसको अशुद्द कामवासनाको मध पिएका छन्, र पृथ्वी का राजाहरुले त्यससंग व्यभिचार गरेका छन्, र पृथ्वीका व्यापारीहरु त्यसको विलासिताको प्रभावले धनि भएका छन्| " ४ तब मैले स्वर्गबाट यसो भनिरहेको अर्को आवाज सुनें: "हे मेरा मानिस हो, त्यसबाट निस्केर आओ, नत्रता त्यसका पाप हरुसंग तिमीहरु पनी सहभागी हुनेछौ, र त्यसका विपत्तिहरु तिमीहरु भोग्नेछौ"
र अन्त्यमा -२ कोरन्थी ६:१७ यसकारण तिनीहरुका बीचबाट निस्केर आओ, र तिनीहरुबाट तिमीहरु अलग होओ, परमप्रभु भन्नुहुन्छ | अशुद्द कुरा केहि नछोओ, र म तिमीहरुलाई ग्रहण गर्नेछु"

यदि कुनै प्रश्न, छलफल को विषय, सत्यको खोज, बाइबलिय शु-समाचार आदि इत्यादी को विषय मा जान्ने इच्छा भए इमेल गर्नुहोस:  mamschamling@gmail.com

No comments:

Post a Comment