Thursday, March 11, 2021

सुसमाचारहरु कहिले लेखिए ?

                 येशूको मृत्युको कैयौँ वर्षपछि सुसमाचारहरू लेखिएकाले तिनमा दन्त्यकथाहरू थपिएका छन भनि आलोचकहरू दोष लगाउने गर्छन् । अलौकिकतामा विश्वास नगर्ने पूर्वाग्रहीहरू सुसमाचारका पुस्तकहरू ख्रीष्टाब्द ७० पछि मात्र लेखिएका हुन् भनी दाबी गर्छन् । मत्ती २४, मर्कूस १३ र लूका २१ मा अभिलिखित भविष्यवाणी गर्ने क्षमता येशूमा थिएन भनी तिनीहरू बताउँछन् । तर येशूको मृत्युभन्दा केही वर्षपछि मात्र सुसमाचारहरू लेखिए भन्नका लागि हामी सँग दरिला कारणहरू छन् ।


लिवरल ईश्वरशास्त्रीहरू पनि विश्वास गर्छन् कि मर्कूसको सुसमाचार ७० को दसकमा, मत्ती र लूकाको ८० र यूहन्नाको ९० को दसकमा लेखिए। तर नयाँ करारका प्रवीणतर विद्वान्हरूको विश्वास अनुसार सुसमाचारहरू अझै पहिले लेखिएका हुन् भनी पुष्टि गर्ने दरिला साथै प्रशस्त साक्षीहरू छन् ।


पहिलो, यरूशलेमको मन्दिरको विनाशको विषयमा येशूले गर्नुभएको भविष्यवाणी सुसमाचारहरूमा अभिलिखित छन् (मत्ती २४;मर्कूस १३; लूका २१) । इतिहास अनुसारख्रीष्टाब्द ७० मा यरूशलेमको मन्दिर नष्ट भयो । तर सुसमाचारहरूले येशूको भविष्यवाणीको समाप्तिलाई अभिलिखित गरेका छैनन् । यहूदी इतिहासमा भएको यस महत्त्वपूर्ण घटनालाई सुसमाचारका लेखकहरूले समावेश नगर्नु अनौठो हुन जान्छ । यहूदी धर्ममा मन्दिर मुख्य थियो । यहाँ परमेश्वरको वास हुन्थ्यो भनी विश्वास गरिन्थ्यो र पापका निम्ति बलिदानहरू यहीँ नै चढाइन्थे । यस्तो महत्त्वपूर्ण घटनालाई समावेश नगर्ने इतिहासकारलाई नेपालको इतिहास लेख्ने तर दरबार हत्याकाण्डको विषयमा उल्लेख नगर्ने इतिहासकारसँग तुलनागर्न सकिन्छ । सुसमाचारिय लेखकहरूले येशूको भविष्यवाणीको समाप्तिलाई किन उल्लेख गरेनन् ? सबैभन्दा तर्कसङ्गत कारण यही होकि तिनीहरूले सुसमाचार लेख्दा यो घटना घटेको थिएन ।


दोस्रोमा, प्रेरितको पुस्तक ख्रीष्टाब्द ६२–६४ को बिचमा लेखिएको थियो भनी पुष्टि गर्नका लागि शक्तिशाली कारणहरू पेस गर्न सकिन्छन् ।उदाहरणार्थ, लूकाले प्रेरितको पुस्तकमा यस्ता चिरस्मरणीय घटनाहरू उल्लेख गरेका छैनन्, यदि ती घटनाहरू भएपछि तिनले लेखेका भए जुन समावेश गरिन्थे । ती घटनाहरू हुन्—यरूशलेमको पतन (ख्रीष्टाब्द ७०), ६० को दसकमा भएको ख्रीष्टियानहरूमाथि नेरोको अत्यचार, याकूब, पावल र पत्रुसको सहादत(क्रमश: ६२, ६४ र ६५), ख्रीष्टाब्द ६६ देखि थालिएको रोमीहरूको विरुद्धमा यहूदी युद्ध ।यसका अतिरिक्त, प्रेरितको पुस्तकमा भएका धेरै अभिलिखित विवरणहरू ज्यादै सुरुका हुन् ।लूकाद्वारा लिखित दुई ओटा पुस्तकमध्ये प्रेरितको पुस्तक दोस्रो भएकोले तिनको पहिलो पुस्तक(लूकाको सुसमाचार) ६० को थालनीमा लेखिएको हुनुपर्छ । यो भनेको येशूको मृत्युको३० वर्षभित्रमा नै हो । मर्कूसको सुसमाचार बाट लूकाले केही जानकारीहरू उल्लेख गरेकाले मर्कूसको सुसामचार अझै पहिले लेखिएको हो ।


अन्त्यमा, यो बुझिएको हुनुपर्छ कि पावलका झण्डै सबै पत्रहरू लेखिएपछि मात्र सुसमाचारहरू लेखिए । पावलले झण्डै ख्रीष्टाब्द ४८ बाट लेख्न थालेका थिए । तिनका धेरैजसो पत्रहरू ५० को दसकमा लेखिए । पहिलो ख्रीष्टियान मण्डलीबाट प्राप्त विश्वासका सारहरूर भजनहरूलाई पावलले आफ्ना पत्रहरूमा समावेश गरेका छन् । तीमध्ये ऐतिहासिक येशूको सम्बन्धमा १ कोरिन्थी १५ अध्याय सर्वाधिक महत्त्वपूर्ण विश्वासको सार हो । पावल लेख्छन्, “किनभने मैले जे पाएँ त्यसैलाई सबैभन्दा मुख्य विषयको रूपमा तिमीहरूलाई सुम्पिदिएँ, अर्थात् पवित्र धर्मशास्त्र अनुसार ख्रीष्ट हाम्रा पापका निम्ति मर्नुभयो । उहाँ गाडिनुभयो, र पवित्र धर्मशास्त्र अनुसार तेस्रो दिनमा उहाँ पुनर्जीवित पारिनुभयो” (पदहरू ३–४) ।


अलेक्ज्याण्डर महान्को विषयमा सबैभन्दा पहिले लेखिएका दुई ओटा जीवनीका लेखक एरिअन र प्लुटार्क हुन् । अलेक्ज्याण्डरको मृत्यु ३२३ ख्रीष्टपूर्वमा भयो । तर यी जीवनीकारहरूले तिनको मृत्युको ४०० वर्षपछि मात्र तिनको बारेमा लेखे । यति हुँदाहुँदै पनिइ तिहासकारहरूले ती जीवनीलाई साधारणत:भरोसायोग्य ठान्छन् । यो साँचो हो कि अलेक्ज्याण्डरको जीवनमा काल्पनिक कथाहरूको विकास भए तर यी दुई लेखक पश्चात् मात्र ।


प्राचीन संसारमा काल्पनिक कथाको वृद्धि भई मुख्य ऐतिहासिक सच्चाइलाई तोड्न दुई पुस्ताको समय अन्तर पर्याप्त थिएन भनी अक्सफोर्ड विश्वविद्यालयका इतिहासकार ए.एन. शेर्विन ह्वाइटले बताएका छन् । कुनै घटना वा व्यक्तिको सम्बन्धमा उही पुस्तामा दन्त्यकथाको विकास भई साधारणत: त्यसलाइ स्वीकार गरिएको तथ्य जानकारीमा आएको छैन ।