Wednesday, June 28, 2017

सबैलाई आफुलाई झैँ प्रेम गरौं !

"प्रिय हो, हामी एउटाले अर्कोलाई प्रेम गरौं, किनभने प्रेम परमेश्‍वरबाट आउँछ। जसले प्रेम गर्छ त्‍यो परमेश्‍वरबाट जन्‍मेको हो, र परमेश्‍वरलाई चिन्‍छ। प्रेम नगर्नेले परमेश्‍वरलाई चिन्‍दैन, किनभने परमेश्‍वर प्रेम हुनुहुन्‍छ। परमेश्‍वरको प्रेम हाम्रा माझमा यसरी प्रकट भयो, कि उहाँले आफ्‍ना एकमात्र पुत्र संसारमा पठाउनुभयो, ताकि पुत्रद्वारा हामी जिउन सकौं। प्रेम यसैमा छ, कि हामीले परमेश्‍वरलाई प्रेम गरेका होइनौं, तर उहाँले हामीलाई प्रेम गर्नुभयो, र हाम्रा पापको प्रायश्‍चित हुनका निम्‍ति आफ्‍ना पुत्र पठाउनुभयो।


 प्रिय हो, यदि परमेश्‍वरले हामीलाई यसरी प्रेम गर्नुभएको हो भने, हामीले पनि एउटाले अर्कोलाई प्रेम गर्नुपर्छ। परमेश्‍वरलाई कसैले कहिल्‍यै देखेको छैन। यदि हामीले एउटाले अर्कोलाई प्रेम गर्‍यौं भने परमेश्‍वर हामीमा रहनुहुन्‍छ, र उहाँको प्रेम हामीमा सिद्ध भएको हुन्‍छ।


 उहाँले हामीलाई आफ्‍ना आत्‍माबाट दिनुभएको छ, र यसैकारणले हामी यो जान्‍दछौं कि हामी उहाँमा रहन्‍छौं र उहाँ हामीमा रहनुहुन्‍छ। हामीले देखेका छौं, र गवाही दिन्‍छौं, कि पिताले आफ्‍ना पुत्रलाई संसारका मुक्तिदाता हुन पठाउनुभएको छ। जसले येशूलाई परमेश्‍वरका पुत्र हुनुहुन्‍छ भनी स्‍वीकार गर्छ, त्‍यसमा परमेश्‍वर वास गर्नुहुन्‍छ, र त्‍योचाहिँ परमेश्‍वरमा। यसरी हामीप्रति भएको परमेश्‍वरको प्रेम हामी जान्‍दछौं र विश्‍वास गर्छौं।


  परमेश्‍वर प्रेम हुनुहुन्‍छ, र जो प्रेममा रहन्‍छ त्‍यो परमेश्‍वरमा रहन्‍छ, र परमेश्‍वर त्‍यसमा रहनुहुन्‍छ। न्‍यायको दिनको निम्‍ति हामी पूर्ण भरोसासाथ बस्‍न सकौं भनेर प्रेम यसैमा हामीमा सिद्ध हुन्‍छ। किनकि उहाँ जस्‍तो हुनुहुन्‍छ हामी पनि यस संसारमा त्‍यस्‍तै छौं।प्रेममा डर हुँदैन, तर सिद्ध प्रेमले डरलाई हटाउँछ। किनकि डरको सम्‍बन्‍ध त दण्‍डसँग हुन्‍छ, अनि जो डराउँछ प्रेममा त्‍यो सिद्ध भएको हुँदैन। हामी प्रेम गर्दछौं, किनभने पहिले उहाँले हामीलाई प्रेम गर्नुभयो।


 यदि कसैले “म परमेश्‍वरलाई प्रेम गर्छु” भन्‍छ, तर आफ्‍नो भाइलाई घृणा गर्छ भने त्‍यो झूटो हो, किनकि आफूले देखेको आफ्‍नो भाइलाई नै प्रेम नगर्नेले नदेखेका परमेश्‍वरलाई प्रेम गर्न सक्‍दैन। हामीले उहाँबाट यो आज्ञा पाएका छौं, कि जसले परमेश्‍वरलाई प्रेम गर्छ त्‍यसले आफ्‍नो भाइलाई पनि प्रेम गर्नुपर्छ।" १ यूहन्ना    ४:७-२१ ( पवित्र बाइबल )
www.prerananepal.blogspot.com

No comments:

Post a Comment