Thursday, September 26, 2019

बाँध्ने र फुकाउने सिद्धान्त !!

हामी परमेश्वरका जनहरु विभिन्न चुनौतीहरु सामना गर्दै परमेश्वरमा उद्धेश्यपूर्ण जीवन जिउनु पर्दछ । जीवनमा विभिन्न प्रकारका संघर्षहरु अनि आत्मिक लडन्तहरु भईरहेको हुन्छ । शायद तपाईंको जीवनमा आत्मिक लडन्त गरीरहनु भएको छ होला । शरारिक, आत्मिक, भौतिक, आर्थिक अनेक प्रकारका चुनौती र समस्यासँग जुधेर आत्मिक लडन्तको अनुभव गर्नुभएको होला । तर ख्रीष्ट येशूमा हाम्रो लागि विजयको जीवन छ । ख्रीष्ट येशूमा हाम्रो लागि अधिकार र शक्ति प्रदान गरिएको छ । हामीसँग बाँध्ने अनि फुकाउने अधिकार छ । यस अर्थमा तपाईं र मैले के लाई बाँध्ने र के फुकाउने भन्ने कुरा स्पष्ट हुन सके अर्थात बाँध्ने र फुकाउने सिद्धान्त जीवनमा प्रयोग गर्न सके हामी हर प्रकारका आत्मिक लडन्त र समस्यामाथि विजय बन्न सक्दछौं । बलियो मानिस जो शैतान हो त्यसलाई बाँध्ने कुरा बताईएको छ । अनि हामीलाई बाँध्ने र फुकाउने सिद्धान्तका कुरा पनि बताईएको छ । यसैले हामीले ख्रीष्ट येशूमा उहाँको आदेश पालन गर्दै विजयी र आशिषमय जीवन जिउनु हरेक विश्वासीको दायित्व र कर्तव्य हो ।

“पहिले बलियो मानिसलाई नबाँधीकन त्यसको घरभित्र पसेर कसले त्यसको धनमाल लिएर जान सक्छ? त्यस वलियो मानिसलाई बाँधेपछि मात्र त्यसको धनमाल लुट्न सक्छ ।” मत्ती १२:२९

यहाँ येशूले बलियो मानिसलाई बाँध्नु पर्ने कुरा बताउनु भयो । वलियो मानिसलाई नबाँधीकन त्यसको धनमाल खोस्न सकिदैन भनेर येशूले भन्नु भयो । यहाँ येशूले वलियो मानिस भनेर कसलाई भन्नु भएको हो त? यो वलियो मानिस भनेर येशूले शैतानलाई उल्लेख गर्नुभएको हो । वास्तवमा येशूले भूतहरुलाई निकाल्ने सन्दर्भमा यो कुरा बताउनु भएको थियो । निश्चय पनि वलियो शैतानलाई हामीले बाँध्नु जरुरी छ । जब हामी शैतानलाई बाँध्दछौं तब त्यसले लगेका कुराहरु हामी खोस्न सक्षम हुन्छौं । हामी आफ्नो शक्ति र सामाथ्र्यको कारण होईन तर ख्रीष्टको शक्तिको कारण हामी त्यस वलियो मानिस शैतानलाई बाँध्न सक्षम हुन्छौं ।

हामीलाई थाह हुनुपर्छ कि आत्मिक क्षेत्रमा दुईवटा मात्र राज्य छन् । एउटा परमेश्वरको राज्य र अर्को शैतानको राज्य । कुनै पनि मानिस आत्मिक रूपमा तटस्थ रहन सक्दैन । कारण कि उ परमेश्वरको राज्यमा उभिन्छ कि उ शैतानको राज्यको बन्धनमा पर्दछ ।

यहाँ येशूले वलियो मानिसलाई बाँध्ने कुरा बताउनु भयो । त्यो वलियो मानिस भनेको शैतान हो । जो पतित स्वर्गदूहरुको समूह हुन् । अनि दुष्ट आत्माहरु पनि भनेर हामीले बुभ्mन जरुरी हुन्छ । जोहरु आत्मिक अन्धकारको राज्यमा बलिया हुन्छन् । जो वलियो मानिसको प्रतिनिधित्व गर्दछन् । यहाँ वलियो मानिसको घरमा गएर त्यसलाई बाँध्नु पर्ने कुराको उठान गरिएको छ ।

वलियो मानिसको घरमा त्यसलाई बाँध्नु पर्ने कुरा गरिएको छ । वलियो मानिसको घर भनेको परिवार, साथी, अनि संसार हुन सक्दछ । जहाँ त्यसले घर बनाएको हुँदछ । किनकि त्यसको आप्mनो शरीर हुँदैन । दुष्ट आत्मा अनि शैतानको आप्mनो भौतिक शरीर नभएकोले त्यसले शरीर भएको प्राणीलाई प्रयोग गर्न चाहन्छ । त्यस वलियो मानिसलाई बाँध्नु जरुरी छ । त्यसको शक्तिलाई परास्त गर्नु जरुरी छ । त्यो वलियो मानिसलाई बाँध्नलाई हामी विश्वासी तयार रहनु पनि आवश्यक छ । हामीले त्यो बलियो मानिस जो शैतान, दुष्ट आत्मा हो, त्यसलाई बाँधेर अनि उसले लगेका सबै कुरा खोस्नु आवश्यक हुन्छ । कति मानिसको जीवनको स्वस्थ्य, कतिको आर्थिक आशिष, कतिको मनको शान्ति, कतिको मेलमिलापको कुरा लगायत धेरै कुरा त्यसले मानिसबाट लगेको हुनाले त्यसबाट यी सबै कुरा खोस्नु आवश्यक छ । जसरी हामी कोरस गाउँछौं, “शैतानको शिविरमा जाओं र खोसौं, त्यसले जे लग्यो त्यो, खुट्टा मुनि, शैतान खुट्टा मुनि” निश्चय पनि शैतानले हामीसँग लगेको कुरा सबै खोस्नु जरुरी छ । कतिचोटी हामी विश्वासी भएर पनि त्यो बलियो शैतानलाई बाँध्न नसकेको अनि शैतानको बन्धनमा रहेको अवस्थामा भेट्टाउन सकिन्छ । यो एउटा विश्वासीको लागि नराम्रो संकेत हो । येशूले हामीलाई बाँध्ने र फुकाउने अधिकार पनि दिनुभएको छ । यो अधिकार प्रयोग गर्नु पनि जरुरी छ ।
“म तिमीहरुलाई स्वर्ग राज्यको साँचाहरु दिनेछु । जे तिमीले पृथ्वीमा बाँध्नेछौ, सो स्वर्गमा बाँधिनेछ, र जे तिमीले पृथ्वीमा फुकाऔंला, सो स्वर्गमा फुकाईनेछ ।” मत्ती १६:१९ ।
यहाँ परमेश्वरका जनहरुलाई स्वर्गका साँचाहरु दिईएको छ । यो साँचोहरु भनेको अधिकार अनि शक्तिको कुरा हो । जसको साँचो हो त्यसले मात्रै खोल्ने अधिकार हुन्छ । यो अधिकार विश्वासी जनलाई दिईएको छ । परमेश्वरको शक्ति विश्वासीजनलाई दिईएको छ । यो साँचोले जे हामीले पृथ्वीमा बाँध्छौं, त्यो स्वर्गमा पनि बाँधिने र जे पृथ्वीमा हामीले फुकाउँछौ त्यो स्वर्गमा पनि फुकाईनेछ भनेर भनिएको छ । हामीले बाँध्ने र फुकाउने सिद्धान्तलाई आत्मिक जीवनमा प्रयोग गर्नु अति आवश्यक छ ।


येशूले दुष्टआत्माहरुलाई निकाल्ने सम्बन्धमा पनि कुरा गर्नु भएको छ । उहाँले बाँध्ने र फुकाउने सिद्धान्तको विषयमा पनि चेलाहरुलाई विशेष जोड दिएको कुरा पाइन्छ । तपाईंले दुष्टको शक्तिलाई बाँध्नु पर्दछ । शैतानको शक्तिलाई बाँध्नु पर्दछ । किनभने दुष्ट शैतानले तपाईंको जीवनमा अनि तपाईंको परिवार, अनि तपाईंको घर, समुदायलाई उसले अधीनमा राख्ने अनि बन्धनमा राख्ने काम गर्न सक्दछ । हामीले यो बलियो मानिस जो दुष्ट शैतानको प्रतिनिधित्व गर्दछ त्यसलाई बाँध्नु आवश्यक हुन्छ । त्यसैले पनि हाम्रो निम्ति बाँध्ने फुकाउने कुरा जान्नु आवश्यक छ । जस्तो एउटा ठूलो कुकुरलाई साङ्लोमा बाँधेर राखिन्छ । किनकि यदि त्यो ठूलो अनि भोटे कुकुरलाई नबाँधी छोडियो भने उसको अगाडि आउने सबैलाई टोकी दिन्छ । त्यसै कारण यदि त्यस कुकुरलाई बाँधेर राखेको खण्डमा त्यसको प्रभाव पार्ने क्षेत्रहरु सीमित हुँदछ । जति साङ्लो लामो छ त्यति क्षेत्रभित्र मात्रै उसको प्रभाव हुन सक्दछ । उसैको छेउमा जानेलाई मात्रै उसलाई टोक्दछ । उसको छेउमा नजानेलाई टोक्न सक्दैन । यस अर्थमा हामीले पनि शैतानको क्षेत्रलाई सीमित तुल्याउनु पर्दछ । त्यसको प्रभाव क्षेत्रलाई सीमित तुल्याउनु आवश्यक छ । त्यसैकारण पनि दुष्ट शैतानलाई येशूको नाममा हामीले बाँध्नु पर्दछ । येशूको रगतले त्यसको शक्तिलाई बाँध्नु पर्दछ । किनकि हामीलाई शैतानलाई बाँध्ने अधिकार साँचोहरु दिनु भएको छ ।


अनि फुकाउने सिद्धान्तमा जो मानिसहरु पापको बन्धनमा छन् तिनीहरुको पापको बन्धनबाट फुकाउनु पर्दछ । दुष्टको तनाव, अनि निराशाको बन्धनबाट पनि हामीले तिनीहरुलाई फुकाउनु पर्दछ । हरेक परिस्थितिमा, हरेक समस्यामा, हरेक चुनौतीहरुमा हामीलाई साँचोहरु दिईएको छ कि हामीले त्यस साँचो अधिकार प्रयोग गरेर दुष्टको बन्धनबाट मानिसहरुलाई छुटकारा दिलाउने, त्यसको बन्धन फुकाउने कार्यमा तीब्र रूपमा लाग्नु आवश्यक छ ।
हरेक विश्वसीजनहरुसँग बाँध्ने र फुकाउने अधिकार दिईएको छ । तथापि यसप्रति सम्बेदनशील हुनु आवश्यक छ । किनकि अधिकार नभएको व्यक्तिले दुष्टको कामलाई बाँध्न सक्दैन । अनि त्यसको बन्धनबाट मानिसहरुलाई फुकाउनु पनि सक्दैन । जस्तो एउटा ट्राफिकले दश रुपैयाँको सिठ्ठी फुकेर लाखौं पर्नेहरु गाडीहरु रोक्दछ । किन त? यदि हामीहरु कोही कुनै सडकको चोकमा उभिएर सिठ्ठी फुकेर के सबै चालकले गाडी रोक्छन् त? के सोच्लान त गाडी चालक र दर्शकहरुले? निश्चय पनि यो मानिसको तार खुस्केको रहेछ भनेर सोच्लान् । कसैले पनि जो पायो त्यसले सिठ्ठी फुक्दा गाडी रोक्दैनन् । तर एउटा ट्राफिकले सिठ्ठी फुक्दा मन्त्रीको गाडी पनि रोकिनु पर्दछ । किनकि उसले अधिकार पाएकोले उसको आदेशमा रोकिनु पर्ने हुन्छ । आज परमेश्वरले पनि हामीलाई अधिकार दिनु भएको छ । हामीले जब त्यो अधिकार प्रयोग गरेर दुष्टलाई बाँध्छौं । त्यसको क्षेत्र र शक्तिको प्रभाव खुम्चिएर जान्छ ।
हामीले बलियो मानिस जो दुष्ट आत्मा शैतान हो । त्यसलाई बाँध्नलाई आफू पनि तयारी अवस्थामा रहनु पर्दछ । हामी प्रभुमा बलियो बन्नु पर्दछ । आत्मामा प्रभुको नजीक हुनु जरुरी छ । परमेश्वरको बचन अनुसारको जीवन व्यतित गर्नु आवश्यक छ । प्रेरित १९:१३–१६ मा हामीले हेर्ने हो भने यहुदी प्रधान पुजहारी स्केवासको सात जना छोराले दुष्ट आत्मा शैतानको बन्धनमा परेकालाई पावलले प्रचार गरेका येशूको नामद्धारा म तँलाई निस्कने आज्ञा दिदँछु भनेर भनेका थिए । तर भुतात्माले भन्यो, पावललाई म चिन्छु । येशूलाई पनि चिन्छु । तर तिमीचाहिं को हौ ? त्यो भुतात्मा लागेको मानिस उफ्रदै तिनीहरुमाथि जाई लाग्यो र तिनीहरुलाई वशमा पारेर पछारेयो र तिनीहरु त्यस घरबाट नाङ्गो र घाईते भएर भागे । निश्चय पनि दुष्टात्मा शैतान वलियो छ । त्यसले परमेश्वरको जनलाई पनि चिन्छ । त्यसले येशूलाई पनि चिन्छ । तर येशूमा नभएका, परमेश्वरको वचन अनुसार नजिउने, पापमा जिउने, नामधारी विश्वासीलाई पनि चिन्छ । तपाईं कस्तो प्रकारको मानिस हो भनेर त्यसले जान्दछ । के तपाईं त्यो वलियो मानिसलाई बाँध्नलाई सक्षम हुनुहुन्छ? आज हामीले आफुलाई जाँच बुझ गर्नु आवश्यक छ ।


 हामीले शैतान दुष्टलाई बाँध्न र बन्धनमा परेका मानिसलाई फुकाउनलाई तयारी भएर लाग्नु जरुरी छ । अन्यथा त्यो वलियो शैतान दुष्टले तपाईंलाई पछार्न सक्छ । त्यसले तपाईंलाई उसको अधीनमा राख्न सक्दछ । घाईते र नाङ्गो पार्न सक्दछ । आदम र हब्बाले जब परमेश्वरको नजरमा पाप गरे अनि शैतानको अधीन र बन्धनमा परे । तिनीहरु नाङ्गै बने । उनीहरुले नेभाराको पातहरु लगाए । उनीहरुले परमेश्वरले दिनुभएको अधिकार गुमाए । निश्चय पनि दुष्ट आत्मा शैतानले तपाईं को हो भनेर चिन्दछ । उसले पावललाई पनि चिन्दथ्यो । उसले येशूलाई पनि चिन्दछ । उसले येशूमा नभएको मानिसलाई पनि चिन्दछ । याकुब २:१९ मा याकुबले भन्दछन्, “तिमीहरु विश्वास गर्दछौ कि परमेश्वर एउटै हुनुहुन्छ । त्यो असल हो । भुतात्माहरु पनि विश्वास गर्दछन् र थरथर काम्दछन् ।” यहाँ भुतात्माहरु, दुष्ट शैतानले पनि परमेश्वर हुनुहुन्छ भनेर विश्वास गर्दछन् मात्रै होईन तिनीहरु थरथर काम्दछन् भनेर भनिएको छ । हामीले परमेश्वरको सुरक्षाको घेरामा बसेर उहाँले दिनु भएको आत्मिक हात हतियारले सुसज्जित भएर आत्मिक लडन्तमा विजय बन्नै पर्दछ ।
हामी आत्मिक रूपमा तयारी भएर शैतानलाई बाँध्नु पर्दछ । हामीले शैतानका चाल र छललाई बाँध्नु पर्दछ । त्यसको दुष्ट र सेनामेनालाई येशूको रगतको शक्तिमा, उहाँको बचनको शक्तिमा र येशूको नामको शक्तिमा बाँध्नु आवश्यक छ । किनकि हरेक विश्वासीहरुलाई यो अधिकार र शक्ति दिईएको छ । कहिले कहिं हाम्रो पापको कारण हाम्रो अधर्मको कारण पनि शैतानले समस्या ल्याउने मौका पाउँदछ । हामी शैतानको बन्धनमा पर्न सक्दछौं । त्यसप्रति सजग भएर हामी पश्चताप गरी प्रभुमा फर्कनु आवश्यक हुन्छ ।


प्रायजसो दुष्ट आत्मा अनि शैतान मानिसलाई बन्धनमा पार्न, निराशा तुल्याउन, नाश पार्न अनि चोर्न आउँदछ । यूहन्ना १०:१० मा शैतानलाई चोर भनिएको छ । जसले चोर्न, मार्न र नाश पार्न आउँछ तर ख्रीष्ट येशूचाहिं जीवन दिन अनि त्यो पनि प्रशस्तताको जीवन दिनलाई उहाँ आउनु भयो भनेर भनिएको छ । यस अर्थमा अन्धकारको शक्तिलाई बाँध्नु आवश्यक छ । परमेश्वरले बाँध्ने फुकाउनलाई हामीलाई उहाँको नाउँमा अधिकार दिनु भएको छ । यस अधिकारलाई प्रयोग हामी दुष्टतालाई बाँध्ने र बन्धनमा परेका हर मानव जाति र क्षेत्र अवस्थाहरुलाई फुकाउनु पर्दछ । परिवार, देश र व्यक्तिगत जीवनका हर बन्धनका कुरालाई येशूमा हामीले फुकाउनु पर्दछ । यसरी ख्रीष्टमा हामी सबैले विजयी जिउन सक्नेछौं । बाँध्ने र फुकाउने सिद्धान्तलाई हामी सबै विश्वासीले जानौं र हामी जीवनमा यसलाई लगाएर प्रभुमा आशिषित जीवन यापन गरौं ।

No comments:

Post a Comment