बहुभाषिक, बहुधार्मिक र बहुसांस्कृतिक राज्यमा, राजनीति र धर्म सँगसँगै हिंड्न सक्दैन । यदि राज्य र धर्म सँगै भयो भने राज्यले मान्यता दिएको धर्मइतरका धार्मिक समुदायमाथि दमन हुने र जबरजस्ती एकल धार्मिक निर्णयहरु लादिने निश्चित छ । त्यसले समाजमा विद्यमान वैमनस्यता र द्वन्द्वलाई झन् बढावा दिने छ जसको कारण शान्ति, स्थिरता र विकास असम्भव हुनेछ ।
धर्मनिरपेक्षताको अर्थ राज्यले कुनै धर्मप्रति अनास्था राख्ने भन्ने होइन, राज्यको नजरमा सबै धर्म बराबर हुन्छ भन्नु हो । तर यहाँ धर्मभिरुहरुबाट यसरी प्रचार गरियो कि, धर्मनिरपेक्षता भनेको हिन्दु धर्मको विरुद्धमा इसाई बाहुल्य राष्ट्रले जबरजस्ती लादेको नीति हो, नेपालमा धर्मनिरपेक्षता कायम भयो भने हिन्दुहरु सबै इसाई हुन्छन् ।
तर यी धर्मभिरुहरुलाई किन इसाई बाहुल्य राष्ट्रहरुमा हिन्दू धर्मको प्रचार गर्न र धर्मअनुरुपको सांस्कृतिक पर्व-उत्सव मनाउन स्वतन्त्रता छ भन्ने हेक्का छैन ? अमेरिका, क्यानडा, बेलायत लगायतका स्थानमा सयौं हिन्दु मन्दिरहरु बनेका छन्, ती मन्दिरहरु बनाउन राज्यको तर्फबाट कुनै असहयोग भएको छैन । बरु आफ्नो देशमा बिस्तार भएको सांस्कृतिक विविधताले उनीहरुमा आत्मगौरव बढेको छ ।
साना र निर्धाहरुलाई संरक्षण गर्नुपर्छ भन्ने मान्यता मानव मात्रमा छ । मानवलाई आघात पुर्याउने विषालु सर्पका बच्चा मार्न त हाम्रो हात काँप्छ । तर धर्मको नाममा बहुमतको आधार देखाएर अरु धर्मप्रति आस्था राख्नेहरुको स्वतन्त्रतालाई कुण्ठित गर्न खोज्नु कहाँको धार्मिक नियम हो ?
देशलाई हिन्दु धर्म सापेक्ष राष्ट्र बनाउन खोज्नुको कारण यो देश हिन्दूहरुको मात्र हो, राज्यले हिन्दूहरुलाई मात्र संरक्षण गर्नुपर्छ, हिन्दु धर्मभन्दा बाहिरका धर्मावलम्बीहरुले पनि हिन्दु कानुन मान्नुपर्छ भन्न खोजिएको होइन ?
अहिलेको तथ्याङ्क जेसुकै होस्, तर नेपालमा हिन्दुहरुको आगमन हुनुभन्दा पहिलाबाट प्रकृतिवादी मान्यता राख्ने किरातहरुले आफ्नो मौलिक धार्मिक मान्यता हालसम्म जिवित राख्दै आएका छन् । हिन्दु-आर्य कुलमा नेपालमै जन्मेर विश्वलाई नयाँ दृष्टि दिन सफल बुद्धको दर्शनलाई (धर्म) मान्ने नेपालीहरुको संख्या सानो छैन । इस्लाम र जैन धर्मावलम्बीहरु पनि यथेष्ट छन् । परापूर्व कालदेखि हिन्दु धार्मिक सम्प्रदायसँग नङ र मासुको सम्बन्ध राखेर नेपालमा रहँदै आएका यी धार्मिक समुदायलाई अहिले इसाईको हाउगुजी देखाएर हिन्दु सापेक्ष राज्यको वकालत गर्नु कति जायज हो ?
इसाईकरणको समस्या हिन्दूमा मात्र छैन बौद्ध र किरातमा पनि उतिकै छ । नेपालमा इसाईको संख्या बढ्नुमा हिन्दुभित्रको छुवाछूत, बुद्ध धर्मावलम्बीहरुमा (खासगरी तामाङ) विद्यमान गरिबी, किरातभित्रको जँड्याहा संस्कृतिले महत्वपूर्ण भूमिका खेलेको छ । त्यसैले आफूभित्रको कमजोरी नदेखी अरुलाई गाली गर्नुको कुनै तुक छैन । हिन्दू, बुद्ध र किरातहरु इसाई बन्नुमा थोरै आर्थिक प्रलोभन र अवसरको खोजी पनि जोडिएको छ तर मुख्य कुरो यी धर्मभित्रको धार्मिक अन्धविश्वास, कुरीति र कुसंस्कार नै हो । त्यसैले आफूभित्रको गलत पक्षलाई सुधार्नु यतिबेलाको आवश्यकता हो, धर्म सापेक्ष राज्यको माग वा धर्म सापेक्षताले इसाईकरण रोकिनेवाला छैन ।
अन्त्यमा हिन्दू धर्म सापेक्ष राज्यका माग गर्ने मित्रहरुलाई यही भन्न चाहान्छु- आफूभित्रको कमजोरी सुधार्ने कि, अरुलाई धारे हात लगाएर गाली गर्ने ?
No comments:
Post a Comment