हामी सर्वप्रथम आजकल हुने गरेको अन्य भाषाहरूको अभ्यासलाई विचार गरौं। त्यहाँ वास्तवमा के बोलिन्छन्? साँच्चीकै भाषा कि अर्थहीन बकबक?
"क्यारिज्म्याटिक व्यक्तिहरूले आफ्नो अन्य भाषालाई प्रार्थना गर्नका लागि परमेश्वरद्वारा दिइएको, सम्भवत: स्वर्गदूतको भाषाको रूपमा लिन्छन्। तर केवल बुझ्ने भाषामा परमेश्वरलाई सम्बोधन गर्नेहरूका निम्ति र भाषाविदहरू (जोहरू यस विषयमा एकमत छन्) को जानकारी अनुसार अन्य भाषामा भाषाको कत्ति पनि चरित्र नरहेको पाइन्छ" ("क्यारिज्म्याटिक रिनुवल", मार्च ७, १९८० को क्रिश्चियानिटी टुडेको पृष्ठ १६-१७ मा जे आइ प्याकरको लेखबाट)।
"विलियम समारिन, टोरोन्टो युनिभर्सिटीका भाषाविज्ञानका प्राध्यापक लेख्नुहुन्छ:
'पाँच वर्षको अवधि लगाएर मैले इटाली, हल्याण्ड, जमाइका, क्यानडा र संयुक्त राज्य अमेरिकाका सभाहरूमा भाग लिएको छु। मैले पुरानो खाले पेन्टेकोस्टलहरू र नयाँ खाले पेन्टेकोस्टलहरूको अवलोकन गरेको छु। म निजी घरहरूमा हुने साना जमघटहरूमा पुगेको छु साथै बडेमाका सार्वजनिक सभाहरूमा पुगेको छु। मैले [न्यूयोर्कस्थित] ब्रङ्क्सका प्वेर्टो-रिकनहरू, आपलेचियनहरूका सर्प खेलाउनेहरू र लस-एन्जलसका रूसी मलाकन्सहरू जस्ता फरक-फरक संस्कृतिहरूका बीचमा पुगेको छु...मैले अन्य भाषा बोल्नेहरूसित अन्तर्वार्ता लिएको छु र अन्य भाषाको असंख्य नमुनाहरू रेकर्ड गरेको छु र तिनका विश्लेषण गरेको छु। हरेकमै ग्लोसोलेलिया [अन्य भाषा] भाषा विज्ञानको दृष्टिकोणमा अर्थहीन भेटियो। सतहमा मिल्दोजुल्दो रूप भए तापनि ग्लोसोलेलिया वास्तवमा भाषा होइन।'" (द क्यारिज्म्याटिक्स्,पृष्ठ १६२ मा जन म्याकआर्थरद्वारा उद्धृत)।
अर्को शब्दमा भन्ने हो भने, तपाईं क्यारिज्म्याटिक सभामा जानुहोस् जहाँ मानिसहरू अन्य भाषाहरूमा बोलिरहेका छन्, टेप रिकर्डरमा अन्य भाषाका बोलिहरूलाई रिकर्ड गर्नुहोस् र टेप रिकर्डरलाई सर्वोत्कृष्ट भाषाविदहरूकहाँ लगेर उनीहरूलाई अन्य भाषाका ती उच्चारणहरू अध्ययन गर्न दिनुहोस्। तब उनीहरूको निष्कर्ष के हुनेछ? उनीहरूको निष्कर्ष यो हुनेछ, यी उच्चारणहरू अर्थहीन छन्, यी कुनै भाषा होइनन्।
यी कथित "अन्य भाषाहरू" त बाइबलका पन्नाहरूमा वर्णित अन्य भाषाहरू भन्दा ज्यादै फरक छन्। यस बारेमा चाबी खण्डचाहिँ प्रेरित अध्याय २ मा पाइन्छ जहाँ अन्य भाषाहरूको वरदानको पहिलो ऐतिहासिक प्रयोगको बयान छ। पेन्टेकोस्टको त्यस दिनमा के बोलिएका थिए त? यो निर्विवाद छ, त्यस दिन वास्तविक भाषाहरू नै बोलिएका थिए:
"तर जब त्यो आवाज भयो, तब एउटा भीड भेला भयो, र ती छक्कै परे; किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो...अनि कसरी हामीमध्ये हरेकले जुन भाषामा हामी जन्म्यौं, त्यसैमा बोलेको सुन्दैछौं ता?" (प्रेरित २:६,८)।
यस खण्डबाट हामी बाइबलीय अन्य भाषाको वरदानको परिभाषा नियमपूर्वक स्थापित गर्न सक्दछौं। अन्य भाषाको वरदान भनेको आफूले कहिल्यै नसिकेको भाषालाई बोल्न सक्ने अलौकिक क्षमता हो। यो अलौकिक थियो किनभने "आत्माले तिनीहरूलाई बोली दिनुभएअनुसार" (पद ४) थियो यो र उहाँबेगर यो हुन नै सक्दैनथ्यो। यो वास्तविक भाषा थियो "किनकि हरेक मानिसले उसको आफ्नै भाषामा तिनीहरूलाई बोलिरहेका सुन्यो" (पद ६)। ती वक्ताहरू आफूले कहिल्यै नसिकेका भाषाहरूमा बोल्दैथिए:
"अनि तिनीहरू सबै छक्कै परेर आपसमा यसो भन्दै अचम्म माने: "हेर, के यी बोल्नेहरू सबै गालीली होइनन् र?" (पद ७)।
अर्को चाबी खण्ड हो १ कोरिन्थी १४। अन्य भाषाहरू वास्तविक भाषाहरू थिए भन्ने तथ्यलाई समर्थन गर्ने दुइटा मजबुत तर्कहरू यस अध्यायमा भेटिन्छन्:
तर्क #१ – अन्य भाषाहरूलाई अनुवाद गर्न सकिन्थ्यो भन्ने तथ्य
१ कोरिन्थी १४:५,१३,२७,२८ मा हेर्नुहोस्। कुनै पनि विदेशी बोलीको अर्थ यदि बुझिने हो भने त्यसलाई अनुवाद गरिनुपर्दछ। त्यसैले त संयुक्त राष्ट्र संघका अधिवेशनहरूमा दोभाषेहरू (interpreters) प्रयोग गरिन्छन्। यी निपुण अनुवादकहरूले भाषाको रूपान्तर गरिदिएर विभिन्न राष्ट्रका प्रतिनिधिहरूलाई निजहरूले नबुझ्ने भाषामा बोलिएका कुरा बुझ्नलाई सेवा पुर्याउँछन्। मत्ती १:२३ मा "अर्थ" (interpretation) को माने "अनुवाद" हो भनेर देख्न सकिन्छ (हिब्रूमा "इम्मानुएल" लाई नेपालीमा "परमेश्वर हामीसित" भनेर अनुवाद गरिन्छ)।
हाम्रो तर्क यत्ति हो: वास्तविक भाषाको मात्र अर्थ हुन्छ अर्थात् त्यसलाई अनुवाद गर्न सकिन्छ। उत्तेजित उच्चारणहरू वा अर्थहीन ध्वनीहरू वा अर्थ नभएका बकबकलाई अनुवाद गर्न सकिन्न। उदाहरणको लागि "अमेजिङ्ग ग्रेस" शीर्षक भएको आत्मिक गीत नेपालीमा अनुवाद गरिन सकियो किनकि उक्त गीत एउटा वास्तविक भाषा (अङ्ग्रेजि) मा रचना गरिएको थियो। तर "फा ला ला ला ला ला ला ला ला" भनेर गाइने एउटा ख्रीष्टमस गीत भने अनुवाद गर्न सकिन्न किनकि यी स्वरहरू अर्थहीन छन्, सायद यीचाहिँ एक रमाइलो मानिरहेको व्यक्तिको भावुक अभिव्यक्ति भने होलान्।
निष्कर्ष: वास्तविक भाषाहरूको मात्र अर्थ बताउन सकिन्छ वा अनुवाद गर्न सकिन्छ। १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू अनुवाद गर्न सकिन्थे। तसर्थ १ कोरिन्थी १४ अध्यायका अन्य भाषाहरू वास्तविक भाषाहरू थिए।
तर्क #२ – अन्य भाषाहरूमा शब्दहरू थिए भन्ने तथ्य
१ कोरिन्थी १४:१९ मा पढ्नुहोस् — "तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्नु नै म चाहन्छु।" यस पदले ज्यादै स्पष्ट देखाउँछ कि अन्य भाषाहरूको वरदानमा "शब्द" हुन्थे। शब्द के हुन् त? अर्थ बोकेका स्वर हुन् ती। ती अर्थ बोक्ने माध्यम हुन् जसद्वारा हामी एक-अर्कासँग संवाद गर्दछौं। बाइबलमा अन्य भाषाहरू कुनै उत्तेजित उच्चारणहरू थिएनन्, ती तशब्दहरू थिए। अर्थहीन आवाज थिएनन् ती, ती त शब्दहरू थिए। अर्थ नभएक बकबक थिएनन् ती, ती त शब्दहरू थिए। उत्तेजित उच्चारणहरू थिएनन् ती, ती त अर्थपूर्ण उच्चारणहरू थिए।
अन्य भाषाहरूको वरदान विश्वमा बोलिने वास्तविक भाषाहरू थिए भन्ने कुरालाई समर्थन गर्ने थप तर्कहरूका लागि अङ्ग्रेजी पाठकलेबाइबलीय अन्य भाषाहरू वास्तविक भाषाहरू थिए – १२ ओटा कारणहरू (Twelve Reasons Why Biblical Tongues Were Real Languages) भन्ने लेखलाई अध्ययन गर्न सक्नुहुन्छ।
८) के नयाँ नियमका समयमा हरेक विश्वासीले अन्य भाषाहरूमा बोल्नैपर्छ भन्ने धारणा थियो?
के अन्य भाषाहरूको वरदान हरेक विश्वासीलाई दिइन्थ्यो? के अन्य भाषाहरू हरेक विश्वासीले बोल्नुपर्छ भनेर अपेक्षा गरिन्थ्यो?
१ कोरिन्थी १२:४-११ बाट हामी यो सिक्छौं हरेक विश्वासी जनसित एक न एक आत्मिक वरदान हुन्छ तर हरेक विश्वासीको वरदान एउटै हुँदैन। केही विश्वासीहरूसित अन्य भाषाहरूको दान थियो (पद १०) तर सबैसित होइन। १ कोरिन्थी १२:३० मा प्रश्न गरिएको छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन्?" यो यस्तो खाले प्रश्न हो जसले नकारात्मक जवाफको माग गर्दछ। यसलाई नेपालीमा यसरी अनुवाद गर्न सकिन्छ, "के सबैले विभिन्न भाषाहरू बोल्छन् र?" यसको जवाफ हुन्छ, "बोल्दैनन्!" सबैले नै अन्य भाषाहरूमा बोल्दैनन्। यो दान कतिसित थियो तर सबैसित थिएन। यसर्थ नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कतिपयलाई दिइन्थ्यो तर सबैलाई होइन।
त्यसो भए क्यारिज्म्याटिक समूहहरूमा किन सबैलाई नै अन्य भाषाहरूमा बोल्न अर्ती दिइन्छ र कर लगाइन्छ? यो सबैलाई दिइने वरदान होइन भने किन सबैलाई यसै गर्नुपर्छ भन्ने सल्लाह दिइन्छ?
९) अन्य भाषाहरूमा बोल्नुपर्छ भनेर विश्वासीलाई आज्ञा दिइएको भए सो कहाँ उल्लेख छ त?
त्यस्तो आज्ञा कतै छ त? "पवित्र आत्माले भरपूर होओ" (एफेसी ५:१८) भन्ने आज्ञा त छ। "आत्मामा हिँड" (गलाती ५:१६) भन्ने आज्ञा त छ। तर अन्य भाषाहरूमा बोल्नका लागि भने कतै आज्ञा दिइएको पाइँदैन। त्यस्तो आज्ञा कतै भेटिएला भन्ने आशा गर्न पनि मिल्दैन। किनभने जुन काम गर्न सकोस् भनेर परमेश्वरले कसै-कसैलाई मात्र क्षमता दिनुभयो, त्यही काम गरोस् भनेर उहाँले सबै विश्वासीहरूलाई कसरी आज्ञा गर्नुहुन्थ्यो र?
हाम्रा क्यारिज्म्याटिक मित्रहरूलाई एउटा चुनौती दिन चाहन्छौं: "यदि तपाईंहरूले मैले अन्य भाषामा बोल्नुपर्छ भन्ने एउटै मात्र आज्ञा परमेश्वरको वचनबाट प्रस्तुत गर्न सक्नुहुन्छ भने म खुसीसित अन्य भाषामा बोल्नलाई इच्छुक बन्नेछु।"
अन्य भाषाहरूमा बोल्न सिक्न मदत गर्ने प्रयासमा क्यारिज्म्याटिक अगुवाहरूले मानिसहरूलाई के-कस्ता निर्देशन दिने गर्छन्? एउटा उदाहरण यस प्रकार छ:
"[आफ्नो मातृभाषा] को एक शब्द पनि नबोल्ने अठोट गर्नुहोस् (किनभने एकैचोटि दुइटा भाषामा बोल्न सकिन्न)। आफ्नो स्वरको आवाज उठाउनुहोस् अनि पवित्र आत्माले तपाईंलाई नयाँ भाषाको उच्चारण अलौकिक तवरले दिनुहुनेछ। 'के भन्ने होला' भनेर फिक्री नगर्नुहोस् किनकि यो भाषा अलौकिक तवरले बोलिन्छ र यो भाषा मन वा मस्तिष्कबाट आउने कुरो होइन तर पवित्र आत्माद्वारा चलाइएर तपाईंको आत्माबाट आउने कुरो हो। विश्वासमा बोली-संयन्त्र (स्वर यन्त्र, जिभ्रो, ओठहरू) लाई क्रियाशील बनाउनुहोस् जसरी कुनै भाषामा बोल्दा ती क्रियाशील गरिन्छन् अनि पवित्र आत्माले, तपाईंभित्र अब रहनुभई, तपाईंलाई बोली दिनुहुनेछ।" [From a tract published by Dr. Hobart Freeman, Faith Ministries and Publications (Warsaw, Indiana)]
प्राचीन मण्डली इतिहासको पन्नामा पाइने अर्को उदाहरण यस प्रकार छ:
मार्कस: "'आफ्नो मुख खोल्नू, तिमीलाई जे आउँछ त्यही बोल्नू।' यस वचनको कारण घमण्डले फुलेर, आफूले नै अगमवाणी बोल्ने भएँ भन्ने प्रतिक्षाले प्राणमा अति उत्तेजित भएर, भावनाले उत्प्रेरित हुन गएको मुटुको जोडदार धड्कनका साथ-साथै दु:साहसको शिखरमा पुग्न सकेपछि उनले आफूलाई आएको कुनै एउटा अर्थहीन कुरा बिनालाज त्यस्तो बोलीमा बोल्दछिन् जुनचाहिँ एउटा रित्तो आत्माद्वारा चङ्गाइ पाएको व्यक्तिबाट अपेक्षा गर्न सकिन्छ।" [Irenaeus Against Heresies]
आफूले बोल्नुपर्ने के हो, त्यसको विचारै नगर्नू अरे? आफ्नो मन-मस्तिष्क प्रयोग नगर्नु अरे? के यस्तो सल्लाह पनि बुद्धिमानी हुन सक्छ?
१०) नयाँ नियमको समयमा अन्य भाषाहरूको वरदान कत्तिको महत्त्वपूर्ण थियो?
"म मेरा परमेश्वरलाई धन्यवाद चढाउँछु — तिमीहरू सबैभन्दा बढी म भाषाहरू बोल्दछु; तरै पनि मण्डलीमा अन्य भाषामा दस हजार शब्द बोल्नुभन्दा ता बरु अरूलाई पनि सिकाउन सकूँ भनेर आफ्नो समझले पाँचओटा शब्द बोल्न नै म चाहन्छु" (१ कोरिन्थी १४:१८-१९)।
गजबको तुलना गरिएको छ यहाँ! बुझ्न सकिने पाँचओटा शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा उत्तम हुन्छन्! प्रवचनलाई पाँच शब्दमा सीमित गर्न भनी कुनै प्रचारकलाई अनुरोध गर्नु कस्तो होला! (१) एकदम (२) थोरै (३) मात्र (४) भन्न (५) सकिन्छ! तर ती पाँच शब्द नै अन्य भाषामा बोलिने दस हजार शब्द भन्दा बढी लाभदायक हुन्छन्।
दस हजार शब्द बोल्न करिब डेढ घण्टा समय लाग्छ। पाँच शब्द बोल्न दुई सेकेन्ड मात्र लाग्छ। दुई घण्टा लगाएर नबुझिने शब्दमा बोल्नु भन्दा दुई सेकेन्डमा "ख्रीष्ट हाम्रा पापहरूका निम्ति मर्नुभयो" (१ कोरिन्थी १५:३) भनेर बताउन नै पावल रोज्दछन्। जब त्यो बुझ्न सकिँदैनथ्यो त्यस बेला अन्य भाषाको कुनै महत्त्व रहँदैनथ्यो। यसैकारण अन्य भाषाको अनुवाद अनिवार्य गरिनुपर्थ्यो।
१ कोरिन्थी १४ मा पावलले अन्य भाषाको वरदान भन्दा भविष्यवाणीको वरदान बढी मूल्यवान रहेको बताउँछन् (१-५ पदहरू पढ्नुहोस्)। पावलले १ कोरिन्थी १२:२८ मा केही वरदानहरूलाई तिनका तुलनात्मक महत्त्वको आधारमा सूचीत गरेको देखिन्छ: "अनि परमरेश्वरले मण्डलीमा कतिलाई नियुक्त गर्नुभएको छ: पहिलो प्रेरितहरू, दोस्रो भविष्यवक्ताहरू, तेश्रो शिक्षकहरू; त्यसपछि सामर्थ्यका कामहरू, तब निको पार्ने वरदानहरू, सहायताहरू, अगुवाइ गर्ने कामहरू र किसिम-किसिमका भाषाहरू।" अन्य भाषा सबभन्दा पुछारमा उल्लेख गरिएको छ।
११) के कुनै वरदानहरू अस्थायी थिए?
के त्यस्ता कुनै वरदानहरू थिए जसलाई परमेश्वरले आज दिने गर्नुहुन्न? निम्न उल्लेखित दुइटा वरदानहरू अस्थायी वरदानका उदाहरण हुन्:
१) प्रेरितको वरदान
आज मण्डलीमा कोही पनि प्रेरित छैनन्। यस तथ्यलाई प्रायः सबैले स्वीकार्छन्, धेरै पेन्टेकोस्टल अध्येताहरूले समेत। मर्मनहरू (Mormons) ले र साथै अन्य केही समूहहरूले आज पनि प्रेरितहरू छन् भनेर विश्वास गरे तापनि अधिकांशले भने प्रेरितहरू पहिलो शताब्दीका चुनिएका र दानयुक्त व्यक्तिहरूको एक विशिष्ट र ज्यादै भिन्न समूह थियो भनी स्वीकार्छन्। १ कोरिन्थी ९:१ मा एउटा साँचो प्रेरित भनेको बौरिउठ्नुभएको ख्रीष्टलाई आफ्नै आँखाले देख्ने व्यक्ति हुनुपर्छ भन्ने सङ्केत दिइएको पाइन्छ। आजका विश्वासीहरूको सवालमा यो साँचो हुने कुरै भएन (यूहन्ना १६:१०; १ पत्रुस १:८)।
२) भविष्यवाणीको वरदान
आज मण्डलीमा परमेश्वरद्वारा दानयुक्त भविष्यवक्ता (अगमवक्ता) हरू छैनन् यद्यपि त्यहाँ थुप्रै झूटा भविष्यवक्ताहरू भने छन्। प्रायः सबै क्यारिज्म्याटिक व्यक्तिहरू भविष्यवाणीको वरदान आजको लागि पनि हो भनेर विश्वास गर्दछन्। यस विषयमा #१३ मा चर्चा गरिनेछ। [धेरै वरदानहरूका अस्थायी चरित्रको बारेमा जर्ज जेलरद्वारा लिखित God's Gift of Tongues, pages 113-116हेर्नुहोस्]
अन्य भाषाहरूको वरदान कहिले बन्द भयो?
तपाईंलाई यो बारेमा बुझ्न चाहान्नुहुन्छ भने यो लिन्कमा हेर्नू होला । http://wordoftruth.com.np/index.php?page=tongues-ceased
लेख पा. प्रदेश श्रेष्ठ
No comments:
Post a Comment