Saturday, December 12, 2015

ख्रीष्टमसको ईतिहास

येशूको ऐतिहासिकतामाथि शंका गर्दै दार्शनिक बेट्राण्ड रस्सेलले लेखे, “ऐतिहासिक रूपमा ख्रीष्ट अस्तित्वमा हुनुहुन्थ्यो भन्ने कुरा शंकास्पद छ, यदि हुनुहुन्थ्यो भने पनि हामी उहाँको विषयमा केही पनि जान्दैनौं ।” ऐतिहासिक साक्षीहरूलाई जाँच गरेर हेर्दा रस्सेलको यस्तो भनाइ वास्तवमै हाँस्यास्पद देखिन्छ । नयाँ नियमका सत्ताइस ओटा पुस्तकहरू मात्र होइन यहूदी सर्न्दर्भहरू र सेकुलर (गैर-यहूदी र गैर-ख्रीष्टियान) सर्न्दर्भहरूले पनि येशूको ऐतिहासिकताबारे प्रचुर मात्रामा स्रोतहरू जुटाएका छन् । रोमी इतिहासकार कर्नेलियस टासिटस, यहूदी इतिहासकार योसिफस, ग्रीक व्यङ्ग्यकार लुसियन, सुटोनियस, प्लिनी द योङ्गर, थल्लुस, फ्लेगन, मारा बार सेरापिओन सेकुलर स्रोतहरूका केही उदाहरणहरू हुन् । ब्रिटानिका विश्वकोशको १९७४ ख्रीष्टाब्दको संस्करणमा येशूको जीवनी बयान गर्नलाई बीस हजार शब्दहरू प्रयोग गरिएका छन् । अरिस्टोटल, सिसेरो, अलेक्ज्याण्डर, जुलियस कैसर, बुद्ध, कन्फ्युसियस, मोहम्मद र नेपोलियन बोनापार्टलाई दिइएको ठाउँभन्दा बढी हो यो । प्राचीन समयमा ख्रीष्टिय-मतका प्रतिद्वन्द्वीहरूले पनि येशूको ऐतिहासिकतामाथि कहिल्यै शंका गरेनन् । ख्रीष्टिय-मतका संस्थापक वास्तवमै अस्तित्वमा थिए भनी स्वीकार नगरी ख्रीष्टियान मण्डलीको उदय, सुसमाचारीय विवरणहरू र यसका पछाडि रहेका परम्पराको प्रवाहलाई व्याख्या गर्न कठिन मात्रै होइन असम्भव पनि छ । कुनै पनि प्रतिष्ठित विद्वान्ले ऐतिहासिक येशूको अस्तित्वलाई इन्कार गर्ने साहस कहिल्यै गरेका छैनन् । येशूको ऐतिहासिकतालाई इन्कार गर्नु वास्तवमै मर्ख बन्नु हो ।
येशूको ऐतिहासिकतामाथि शंका गर्नु अस्वभाविक भए पनि उहाँको जन्मदिनबारे शंका गर्नुचाहिँ स्वाभाविक नै हो । मत्ती र लूकाको सुसमाचारमा उहाँको जन्मको विवरण दिइएको भए तापनि नयाँ नियमको कुनै पनि पुस्तकमा उहाँको जन्मदिन उल्लेख नभएकोले उहाँको जन्मको वास्तविक मिति कसैलाई पनि थाहा छैन । ख्रीष्टमस (Christmas) शब्द अंग्रेजी भाषाको नेपाली लिप्यन्तरण हो । येशू ख्रीष्टको जन्मको सम्झनामा मनाइने पर्व नै ख्रीष्टमस हो । बाइबल धर्मशास्त्रमा उहाँको जन्ममिति उल्लेख नभएकोले प्रारम्भिक ख्रीष्टियानहरूको बीचमा कुनै निर्धारित मिति थिएन । चौथो शताब्दीको उत्तर्रार्द्धतिर ख्रीष्टमस भिन्नाभिन्नै स्थानमा भिन्नाभिन्नै मितिमा भए पनि प्रायजसो मण्डलीमा मनाइन थालिएको थियो । उहा“को जन्मदिन निर्धारण गर्नको लागि विभिन्न विधिहरू अप्नाइए । परिणामतः प्रारम्भिक ख्रीष्टियान मण्डलीहरूमा बेग्लाबेग्लै मितिहरू देखा परे । जनवरी २, अप्रिल १८, अप्रिल १९, मे २०, र डिसेम्बर २५ त्यस्ता मितिहरू थिए । तर डिसेम्बर २५ (पौष १०) नै ख्रीष्टमसको लागि औपचारिक मिति हुन पुग्यो । डिसेम्बर २५ लाई नै येशूको जन्मदिनको रूपमा मनाइनुको खास कारण प्रष्ट छैन, एद्यपि केही मतहरू अघि नसारिएका भने होइनन् । सम्भवतः त्यस समयमा मनाइने गैर-ख्रीष्टियान पर्वले गर्दा उक्त मितिमा ख्रीष्टमस मनाउनलाई प्रभाव पारेको थियो । नयाँ नियमले यसको विषयमा कुनै संकेत दिंदैन । विश्वव्यापी कालानुक्रमलाई उत्पादन गर्ने पहिलो ज्ञात ख्रीष्टियान इतिहासकार सेक्टस जुलियस अप्रिmकानसले ख्रीष्टाब्द २२१ मा पहिलो पटक डिसेम्बर २५ लाई येशूको जन्मदिनको रूपमा परिचित गराएका थिए ।
चौथो शताब्दीमा ख्रीष्टिय-मत रोमी साम्राज्यको सरकारी धर्म भइसकेको थियो । बार्‍हौँ शताब्दीमा आइपुग्दा ख्रीष्टमस यूरोपमा सबैभन्दा महत्वपुर्ण धार्मिक पर्व भएको थियो । सुधारवादको युगसम्म ख्रीष्टमसको लोकप्रियता ज्यादै बढ्यो । ख्रीष्टमसमा गैर-ख्रीष्टियानका मनग्गे चलनहरू समावेश भएकाले सुधारवादको समयमा धेरै ख्रीष्टियानहरूले ख्रीष्टमसलाई गैर-ख्रीष्टियान पर्वको रूपमा विचार गर्न थाले । कति ठाउँहरूमा यसको असर परेको भए पनि मानिसहरूले ख्रीष्टमस मनाउन जारी राखे । बीसौँ शताब्दीमा विभिन्न किसिमका व्यवसायहरूको लागि ख्रीष्टमसको पर्व ज्यादै महत्वपुर्ण हुन थाल्यो । बीसौँ शताब्दीको मध्यदेखि ख्रीष्टमस झण्डै विश्वव्यापी रूपमा मनाइन थालिएको छ । संसारभरि नै करडौं ख्रीष्टियानहरू र गैर-ख्रीष्टियानहरूको लागि ख्रीष्टमस सबैभन्दा खुशीको क्षण र सबैभन्दा व्यस्त समय हो ।
ख्रीष्टमससँग गाँसिएका थुप्रै चलनहरू विभिन्न देशबाट विभिन्न समयमा आएका छन् । ख्रीष्टमसको समयमा उपहारहरू साटासाट गर्ने चलन प्राचीन रोमबाट आएको हो । अठारौँ शताब्दीको अन्त्यसम्ममा परिवारका सदस्यहरूबीच उपहारहरू साटासाट गर्ने अभ्यास राम्ररी नै स्थापित भइसकेको थियो । उपहार लेनदेनले हामीलाई परमेश्वरले आफ्नो एकलौटे पुत्र दिनुभएको तथ्यको सम्झना गराउ“छ । “बुद्धिमान् मानिसहरू” (ग्रीकमा Maggi नेपाली बाइबलमा “ज्योतिषीहरू” भनी अनूदित) द्वारा येशूलाई गरिएको भेटमा उपहारहरू चढाइएका छन् । ख्रीष्टमस वृक्ष (Christmas Tree) को परम्परा जर्मनीले ल्याएको हो । पुनर्जागरणकालीन मानवअधिकारवादी लेखक सेवास्टियन ब्राण्टले ख्रीष्टाब्द १४९४ मा लेखेको सबैभन्दा महत्वपुर्ण जर्मन साहित्य “मुर्खहरूको जहाज” नामक कृतिमा घरहरूमा देवदारु वृक्षका हाँगाहरू राख्ने चलनलाई अभिलिखित गरेका छन् । ख्रीष्टमस वृक्षको परम्पराको सुनिश्चित मिति र उत्पत्तिको सम्बन्धमा केही अनिश्चयता भए पनि स्याउहरूसँग सजाइएका देवदारु रूखहरू पहिलो पटक ख्रीष्टाब्द १६०५ मा स्ट्रार्स्वर्गमा जानकारीमा आएजस्तो देखिन्छ । यस्ता रूखहरूमा प्रयोग गरिएका मैनबत्तीहरू ख्रीष्टाब्द १६११ मा साएलसिएनद्वारा अभिलिखित गरिएका छन् । ख्रीष्टाब्द १८४३ मा पहिलो ख्रीष्टमस कार्ड ब्रिटिश नागरिक जे. सी. हर्सद्वारा रचना गरिएका थिए । यो आधुनिक पोस्टकार्डजस्तै थियो र यसमा लेखिएका शब्दहरू यस्ता थिए, ”Merry Christmas and a Happy New Year to You”। क्यारल (Carol) भन्ने शब्द प्राचीन फ्रेन्च शब्दबाट आएको हो । वर्तमान समयमा क्यारलमा गाइने थुप्रै भजनहरू अठारौँ र उन्नाइसौँ शताब्दीमा रचना गरिएका थिए, जसमध्ये केही नेपाली भजनमा अनूदित छन् । चर्चित ख्रीष्टमस भजनहरूमा चार्ल्स वेस्लीद्वारा लिखित नेपालीमा अनूदित “सुन र्स्वर्गदूतको गान” (भजन नं. २२), ख्रीष्टमसको सन्ध्यामा ख्रीष्टाब्द १८१८ मा जोसेफ मोहरद्वारा लिखित नेपालीमा अनूदित “शान्तमय रात” (भजन नं. ३१), आदि पर्दछन् । यसका अतिरिक्त ख्रीष्टमस भोज, घर/मण्डली भवनको सजावट आदि चलनहरू पनि ख्रीष्टमससँगै गाँसिएर आएका छन् ।
ख्रीष्टमस पर्वको विरुद्धमा आवाज उठाउनेहरूको समूह विगतमा पनि थियो र वर्तमान पनि छ । उनीहरूले अघि सार्ने पहिलो र महत्वपुर्ण तर्क हो – ख्रीष्टमसबारे बाइबल मौन छ । यो भनाइ सत्य हो । तर मण्डलीमा अभ्यास गरिने अन्य थुप्रै क्षेत्रहरूमा पनि बाइबल मौन छ । बुधबारको प्रार्थना संगति -झण्डै विश्वव्यापी छ), भजनपुस्तक, मण्डली भवन, ख्रीष्टियान पत्रपत्रिका आदिबारे बाइबल मौन छ । “प्रेरित पावलले मोटरबाइक चढेको थियो र हामीले चढ्ने?” भन्ने प्रश्न कहिलेकाही“ केही ख्रीष्टियान पटमुर्ख अगुवाहरूले मुखबाट ओकल्ने गर्छन् । म विश्वास गर्छु पावल अहिले बाँचेको भए, पावललाई परमेश्वरले हेलिकप्टरमा चढाएर सुसमाचार प्रचारमा लैजानुहुन्थ्यो । पावल बाँचेको समय र वर्तमान समयबीचको भिन्नतालाई बुझ्ने बाइबल विद्यार्थीले कहिल्यै त्यस्तो प्रश्न गर्ने साहस गर्दैन । यस्ता अनगिन्ति कुराहरू छन्, जसको विषयमा बाइबल मौन छ, एद्यपि मण्डलीमा ती अभ्यास गरिंदै आएका छन् । दोस्रो तर्क हो – ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन । यो भनाइ पनि झण्डै पुर्णतः सत्य छ । तर ख्रीष्ट ऐतिहासिक मानिस हुनुहुन्छ भन्ने तथ्य विश्वले स्वीकारेको छ भन्ने पर्याप्त प्रमाण पहिलो अनुच्छेदमा नै हेरिसकिएको छ । त्यसो हो भने ख्रीष्ट एक न एक दिन पक्कै जन्मनुभएको हो । डिसेम्बर २५ को विरोध गर्नेहरूले विकल्पको रूपमा अर्को दिन निर्धारण गर्न नसक्ने भएकोले, उहाँको ऐतिहासिकता शंकारहित भएकोले ख्रीष्टमस ख्रीष्टको जन्मदिन होइन भन्नु पनि र्व्यर्थ छ । अधिक वर्षको फेब्रुअरी २९ मा जन्मेको बालिकाको जन्मदिन चार वर्षमा एकचोटि मात्र मनाउने हो र – कतिपय अवस्थामा मिति होइन विषय महत्वपुर्ण हुन्छ । तेस्रो तर्क हो – ख्रीष्टमसको चलन गैर ख्रीष्टियानबाट र यो रोमन क्याथोलिक उद्भव हो । तर हाम्रो प्रचलनमा रहेका अनगिन्ति नाउ“हरूको उद्भव गैर-ख्रीष्टियान नै छन् । जस्तै, जनवरी भन्ने महिनाको नाम रोमी देवता जेनसबाट लिइएको हो । हामीले प्रयोग गर्ने बारका नाउँहरू देवी देवताका नामहरूस“ग सम्बन्धित छन् । सण्डे -आइतबार) सुर्य देवताको नाउँ भएकोले आइतबारको दिनमा आराधना गर्नुहुँदैन भन्ने तर्क सेभेन्थ डे आडभेन्टिष्टहरूको रहेको छ । तर तिनीहरूलाई शनिबारको उत्पत्ति शनि देवताबाट आएको हो भन्ने कुरा थाहा छैन कि क्या हो – चौथो तर्क हो – ख्रीष्टमसमा पियक्कडपन र अनैतिकता बढी हुन्छ । आइतबारमा अनैतिकता वा दुर्घटना बढी भयो भन्दैमा आराधनाको दिन सार्न मिल्छ र – हवाइजहाजको दुर्घटनाले हवाइ विज्ञानलाई असफल तुल्याउँछ र – दुर्घटना हुन्छ भनेर काठमाडौंदेखि झापासम्म हिंडेर जाने व्यक्ति कोही छ र?

Thursday, December 3, 2015

तपाईंलाई काम लाग्न सक्छ !!

तपाईंका कोहि फेसबुक साथीहरुलाई सदैब टाउको दुख्ने समस्या छ भने यो पोष्टमा tag गरिदिनुहोस्l Migraine Headache का लक्षणहरु : --खप्नै नसकिने खालको टाउको दुख्ने l प्राय टाउकाको एक पट्टिको भाग मात्र दुख्ने -- बिस्तारै आँखा, कन्चट, घाँटी, कान आदि पनि दुख्ने -- चल्न, हिंड्न वा सामान्य काम गर्न खोज्दा, वा चर्को आवाज र प्रकाशले दुखाई झन् बढ्ने -- बान्ता होला जस्तो वाक्वाक्ति हुने, कहिले काहीं बान्ता पनि हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ) -- रिंगटा लाग्ला जस्तो हुने, आँखामा बादल लागेजस्तो गरी केहीबेर दृष्टिमा समस्या हुने (यो Migraine Headache शुरु हुनु अघिनै सुरु भैसकेको पनि हुन सक्छ) -- थकित हुने, शरीर गल्ने र अंध्यारो र एकान्त ठाउँमा सुत्न मन लाग्ने -- दुखाई केहि घण्टा देखि केहि दिनसम्म रहने र बेला बेलामा यी लक्षणहरु फर्किने र बर्षौंसम्म रहने (यहाँ लेखिएका प्राय लक्षणका उदाहरणहरु मलाई मेरा बिरामीहरुले भनेको आधारमा लेखेको हुँ l यदि तपाईंमा हुने समस्याहरु यहाँ दिइएको छैन भन्दैमा Migraine भएको छैन भन्न मिल्दैनl) ------------------------------- **यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला** ------------------------------ कसै-कसैमा मुख्य Migraine Headache का लक्षणहरु देखिनु ठिक केहि मिनेट (वा केहि घण्टा) अगाडी Aura (अर्थात्: पुर्वलक्षणहरु) देखा पर्छन् l ती पुर्वलक्षणहरु व्यक्ति अनुसार फरक हुन्छन् l केहि लक्षणहरु यस प्रकारका छन्: -- दृष्टिमा समस्या : आँखाले हेर्दा आँफु अगाडिको ठिक बिचको केहि भाग देख्न गार्हो पर्ने वा आधा भाग नै देख्न नसकिने वा पुरै आँखा तिरमिर हुने वा केहिबेर सब अँध्यारो हुने l -- हात खुट्टा निकै गरुङ्गो भएको जस्तो वा निकै कम्जोर भएको जस्तो महशुस हुने -- बोल्न अक्मक्कीने, स्मरण शक्ति गुमेको जस्तो लाग्ने, अत्तालिने आदि Migraine Headache का Triggers हरु: Migraine Headache आउने र जाने जिन्दगी भर भैराख्छ l केहि समय हराएको Migraine Headache कहिले काँही कुनै कुराले बिउँताउने गर्छ l याद गर्नुहोस् Triggers (बिउँताउने कुरा) र Cause (रोगको कारण) फरक कुरा हुन् l सबै व्यक्तिमा triggers हरु हुँदैनन् र हुनेमा पनि सबैका एकै किसिमका हुँदैनन् र Triggers हरु जे पनि जस्तो पनि हुन सक्छन् l यस्ता Triggers पत्ता लगाउन व्यक्ति आँफैले खाएको, भोगेको, वा गरेको दैनिकी (खासगरी Migraine Headache भएको दिनको) डायरी तयार पार्नुपर्छl Triggers हरु प्राय यस प्रकारका हुन्छन्: -- खानेकुरा = सुख्खा नुनिला खानेकुरा, चिया, कफी, रक्सि आदि -- कुनै पनि किसिमका गन्ध वा सुगन्ध -- कामको थकान वा तनाब, र अन्य जीवनका दैनिकी चिन्तित तुल्याउने समस्याहरु -- तापक्रम = चिसो, तातो, ओस्सिलो/मक्किएको बाताबरण -- र अन्य धेरै उपचार: यसको उपचार व्यक्तिको उमेर, लक्षणहरु, संगसंगै भएको अन्य रोगहरु (comorbidity) आदिमा भर पर्छ -- कसै कसैमा अँध्यारो र आवाज नआउने ठाउँमा गएर केहीबेर आराम गरेर बसिदिंदा त्यतिकैमा निको हुन्छ -- कोहीलाई सामान्य खालको नदुख्ने औषधि खाँदा पनि पुग्छ -- अन्यलाई डाक्टरकोमा नै गएर prescription लिएर मात्र पाइने औषधि चाहिन्छ नोट: यो समस्या केहि समय थामिने र पून बल्झीराख्ने खालको हुन्छ l पूर्ण सन्चो हुन दसौं-बीसौं बर्ष लाग्न सक्छ l उपचारको उदेश्य भनेको भएको समस्या बल्झन नदिन र अर्को migrane attack झट्टै हुन नदिनु हो l --------------------- **यो जनचेतनाको लागि भएकाले कृपया शक्दो SHARE गरिदिनु होला**

Tuesday, November 24, 2015

म हुँ भन्ने अधिकार येसुलाई मात्र छ ! यदि तपाईं र मैले म हुँ भन्छौं भने हामी घमण्ड गर्दछौं ।

आजकल सामाजिक संजालमा होस या जुनसुकै ठाउँमा पनि धेरै भन्दा धेरै बिस्वासी जनहरुले परमेस्वरको सुसमाचार प्रचार कार्यमा लगनशीलता देखाएको हामी पाउदछौं । यो असाध्यै राम्रो कुरा हो । तर हामीले यो महान कार्यमा आफुले जानेको परमेस्वरको बारेमा एक ले अर्कालाई सिकाउदै अनि आफू पनि सिक्दै अगाडि बढ्नु पर्दछ । जब हामी आफ्नो ज्ञान को निम्ति म हुँ भन्दछौं भने हामी घमण्ड गर्दछौं ।


हामिलाई राम्रोसँग थाहा छ कि सैतान स्वर्गबाट फ्याकिनु भन्दा पहिला परमेस्वरको महिमा प्रसंशा गर्ने र परमेस्वरको सबैभन्दा नजिक को स्वर्गदुत थियो । तर त्यो स्वर्गदुत मा जब म हुँ भन्ने घमण्ड पस्यो तब त्यसले स्वर्ग बाट पाताल सम्मै फ्याकिनु पर्यो । किनकी उस्ले आफ्नो सुन्दरता को घमण्ड साथै म हुँ भन्न थाल्यो ।


यसैया १४:१२-१५ सम्म मा हामी पाउदछौं कि सैतान ले आफुलाई पटक म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्डी प्रस्तुत गर्द छ ।
१, म स्वर्गमा उक्लने छु ।
२, म मेरो सिंहासन उच्च पार्नेछु ।
३, म उत्तरको पल्लो छेउसम्म सभामण्डलको पर्बतमा बिराजमान हुनेछु ।
४. म बादलको उचाई भन्दा माथी उक्लनेछु ।
म परमेस्वर जत्तिकै हुनेछु ।

हेर्नुहोस यसरी सैतानले म हुँ भनी आफुलाई परमेस्वर सामु घमण्ड गरेको पाउदछौं । यहि उस्को घमण्ड को कारण आखिरमा यसैया १४:१५ पद्य मा सैतान पातालको तल्लो छेउसम्मै होच्याईन्छ । यो कुरा ईजिकिएल २८:१२-१५, १७ पद्य मा पनि पाउदछौं ।


त्यसकारण हामिले आफुले आफैलाई नम्र बनाएर प्रभुको राज्यबिस्तारमा लागि पर्नु पर्दछ । किनकी हाम्रो बिस्वास काम द्वारा पनि सिद्द हुन जरुरी छ । ( याकुब २:२६ )। हामी कोहि पनि सर्बज्ञानी छैनौं हामिलाई ज्ञान दिनुहुने परमेस्वर नै हुनुहुन्छ । याकुब १:५ ले भन्दछ यदि तिमीहरु मध्ये कसैलाई बुद्दिको कमि छ भने उद्दार चित्त संग नझर्की दिनुहुने परमेस्वर संग त्यस्ले मागोस र त्यस्लाई सो दिइनेछ ।
अब उसो हामिले याकुब ४:१० अनुसार आफैलाई परमप्रभु को सामने विनम्र तुल्याऔं र उहाँले हामिलाई उच्च पार्नुहुने छ ।


सर्बसक्तिमान परमप्रभु परमेस्वरलाई मात्रै म हुँ भन्ने पुर्ण अधिकार छ । जब मिश्र देशमा ४०० बर्स सम्म करिब ६,००,००० इज्राएलीहरु दासत्वमा थिए तब परमेस्वरले मोसालाई ती ४०० बर्स सम्म मिश्र देशमा दासत्वमा परेका ६,००,००० इज्राएलीहरुलाई छुटाउन भनी पठाउन लागे त्यस बेला मोसाले परमेस्वर लाई सोध्छन हेर्नुहोस अब म इज्राएलीहरु कहाँ गएर तिनीहरुलाई भन्नेछु तिमीहरुका पिता पुर्खाका परमेस्वरले मलाई पठाउनुभएको हो, तब इज्राएलीहरुले उहाँको नाउँ के हो त ? भनि सोधे भने मैले तिनीहले सोधे भने मैले के जवाफ दिउ ?


परमेस्वरले भन्नुभयो " म हुँ जो म हुँ । " फेरि उहाँले भन्नुभयो इज्राएलीहरुलाई तैले यसो भन्नू म हुँ भन्नेले तिमीहरु कहाँ मलाई पठाएको हो । यहाँ परमेस्वरले पहिलो पटक म हुँ भन्नुभएको थियो । त्यही म हुँ भन्ने परमेस्वर नै पछि तपाईं र मेरो पापको लेखी मर्नलाई यश संसारमा आउनुहुदा येसु ख्रीस्ट कहलाइनु भयो । र तिनै अब्राहम, इसाहक र याकुबका परमेस्वर आज तपाईं र मेरो पनि परमेस्वर उद्दार्कर्ता, मुक्तिदाता हुनुहुन्छ ।


अनि उहाँले फेरि यश संसारमा आउँदा पनि म हुँ भनी आफ्नो परिचय दिनुभयो । येसु ख्रीस्ट ले प्रष्ट रुपमा म नैं परमेस्वर हुँ भनी दाबी गर्नुभयो । यसैया, यर्मिया आगमबक्ताले गरेका आगमबाणिहरु एक एक गरि पूरा भए । अनि येसुले आफैंलाई ७ पटक सम्म म हुँ भनी परमेस्वर भएको प्रमाणित गर्नुभयो ।


१, युहन्ना ६:३५ ( जिवनको रोटि म हुँ ) ।
२, युहन्ना ८:१२ ( संसारको ज्योती म हुँ ) ।
३, युहन्ना १०:११ ( असल गोठालो म हुँ ) ।
४, युहन्ना १०:९ ( जिवनको ढोका म हुँ ) ।
५, युहन्ना ११:२५ ( पुनरुथ्थान र जीवन म हुँ ) ।
६, युहन्ना १४:६ ( बाटो, सत्य र जीवन म हुँ ) ।
७, युहन्ना १५:१ ( साँचो दाखको बोट म हुँ ) ।

यसरी येसु ख्रीस्ट ले परमेस्वर बाट पुर्ण अधिकार पाएर आफैलाई म हुँ भनी सत्य साबित गर्नुभयो । अनि हाम्रो सारा पापको निम्ति उहाँ क्रुस मा बलि हुनुभयो । अब उसो हामिले मोसालाई परमेस्वरले दिनुभएको ब्यावस्थामा अल्झिरहन आवस्यक छैन । हिब्रु ८:१३ अनुसार यसर्थ परमेश्वरले यसलाई नयाँ करार भन्नुभयो र पहिलोलाई पुरानो ठहरयाउनु भयो। अनि पुरानो र बेकार चाँडै हराएर जानेछ भन्नुभयो ।

तर गलत अर्थ नलागोस कि येसु संसारमा ब्यावस्था भंग गर्नलाई आउनु भएन तर ब्यावस्था पूरा गर्नलाई आउनुभयो । मत्ती ५:१७
‘म मोशाको व्यवस्था अथवा अगमवक्ताहरूद्वारा लेखिएको अगमवाणी रद्द गर्न आएको भन्ने नसम्झ, रद्द गर्न होइन, तर पूरा गर्न म आएको हुँ।


किन भने ब्यावस्था मोसा बाट दिइयो, अनुग्रह र सत्यता चाहिँ येसु ख्रीस्ट बाट आयो । युहुन्ना १:१७ । त्यसै गरि गलाती ५:१८ । रोमि ३:२१ ले भन्दछ तर अब व्यवस्था बिना नै मानिसहरूलाई धार्मिक बनाउने परमेश्वरको नयाँ बाटो देखा परेको छ। व्यवस्था र अगमवक्ताहरूले हामीलाई त्यस नयाँ बाटोको विषयमा भनेका छन्।


अन्त्यमा अब हामिले कुरा बुझौं र सिक्ने सिक्ने कुरामा सधै एक अर्काको निम्ति प्रार्थना गर्दै अगाडि बढौं । प्रभुले हामिद्वारा यी नै कुरा चाहानुहुन्छ । १ पत्रुस ३:१५ तर तिमीहरुको ह्रदयमा ख्रीष्टलाई प्रभु मानेर पवित्ररुपले सम्मान गर। तिनीहरु प्रत्येकलाई व्याख्या दिन संधै तैयार बस जसले तिमीहरुसंग भएको आशाको विषयमा पुष्टी गराउन विन्ती गर्छ ।


अब हामी म हुँ भन्ने अहम भावना बाट अलग भएर एक ले अर्कोलाई संगतिमा प्रोत्साहित गर्दै अगाडि बढौं । हिब्रु १०:२५ अनुसार । किनकी हामिले बुझ्यौं म हुँ भन्ने अहम घमण्डले गर्दा परमेस्वरले सबैभन्दा आफ्नो ठूलो र नजिकैको स्वर्दुतलाई पत्ताल सम्मै फ्याँक्नुभएको थियो । र त्यसले सैतान को रुप धारण गरेको थियोे भने तपाईं र म आफ्नो ज्ञान को घमण्ड गर्ने को हौं र ? म हुँ भन्ने पुर्ण अधिकार येसु ख्रीस्ट जो परमेस्वरको पुत्र हुनुहुन्छ उहाँलाई मात्र छ । जो हुनुहुन्थ्यो, हुनुहुन्छ र रहिरहनुहुनेछ । हामी सबैलाई यो वचन बढाइ मा प्रभुले आशिष् दिनुभएको होस । आमेन । ( भुल चुक माफ पाउ तपाईहरुकै हितैसी आत्मिक मित्र #जोसन_लिम्बू )

Saturday, November 21, 2015

"पबित्र बाइबल" बारे छोटो जानकारी !!

पबित्र बाइबल मा जम्मा दुई वटा नियमहरु छन ।
१/ नयाँ नियम ।
२/ पुरानो नियम ।
यी दुई नियमहरु गरि पबित्र बाइबल मा ६६ वटा पुस्तकहरू छन । ती मध्ये पुरानो करारमा ३९ वटा पुस्तकहरू छन, भने नयाँ करारमा २७ ओटा पुस्तकहरू समाबेश छन । पुरानो नियममा ९२९ वटा अध्यायहरु छन भने, नयाँ नियममा २६० वटा अध्यायहरु गरि पुरै बाइबल मा १,१८९ वटा अध्यायहरु रहेका छन । यसको शुचि यसप्रकार रहेको छ :-
पुरानो करार:-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, उत्पती ५० २, प्रस्थान ४० ३, लेवि २७ ४, गन्ती ३६ ५, ब्यावस्था ३४ ६, यहोसु २४ ७, न्यायकर्ता २१ ८, रुथ ४ ९, १ समुएल ३१ १०, २ समुएल २४ ११, १ राजा २२ १२, २ राजा २५ १३, १ इतिहास २९ १४, २ इतिहास ३६ १५, एज्रा १० १६, नहेम्याह १३ १७, एस्तर १० १८, अय्युब ४२ १९, भजनसंग्रह १५० २०, हितोपदेस ३१ २१, उपदेशक १२ २२, श्रेष्ठ गित ८ २३, यसैया ६६ २४, यर्मिया ५२ २५, बिलाप ५ २६, इजिकिएल ४८ २७, दानियल १२ २८, होसे १४ २९, योएल ३ ३०, आमोस ९ ३१, ओबदिया १ ३२, योना ४ ३३, मिका ७ ३४, नहुम ३ ३५, हबकुक ३ ३६, सपन्याह ३ ३७, हाग्गै २ ३८, जाकरिया १४ ३९, मलाकी ४ =================== जम्मा = ९२९
नयाँ करार :-
पुस्तकहरु :- अध्यायहरु :- ====================== १, मत्ती २८ २, मर्कुस १६ ३, लुका २४ ४, युहन्ना २१ ५, प्रेरित २८ ६, रोमि १६ ७, १ कोरिन्थी १६ ८, २ कोरिन्थी १३ ९, गलाती ६ १०, एफिसी ६ ११, फिलिप्पी ४ १२, कलस्सी ४ १३, १ थेस्लोनिकी ५ १४, २ थेस्लोनिकी ३ १५, १ तिमोथी ६ १६, २ तिमिथी ४ १७, तितस 3 १८, फिलेमोन १ १९, हिब्रु १३ २०, याकुब ५ २१, १ पत्रुस ५ २२, २ पत्रुस ३ २३, १ युहन्ना ५ २४, २ युहन्ना १ २५, ३ युहन्ना १ २६, यहुदा १ २७, प्रकाश २२ ======================= जम्मा = २६०
पुरानो करार + नयाँ करार
९२९ +२६० ====== जम्मा = १,१८९ अध्यायहरु पुरै बाइबलमा रहेका छन । भने :-
३५,६६,४८० वटा अक्षरहरु छन । ८,१०,६९७ वटा सब्दहरु छन । ३१,१७५ वटा पद्यहरु छन ।
#बाइबल मा सबैभन्दा लामो अध्याय भजनसंग्रह ११९ हो भने, सबैभन्दा छोटो वा बिचको अध्याय भजनसंग्रह ११७ हो ।
#बाइबल मा सबैभन्दा बिचमा पर्ने अध्याय भजनसंग्रह ११८ को ८ औं पद्य हो ।
#बाइबल मा ४६,६७२ पटक "र" को प्रयोग गरिएको छ ।
#बाइबल मा सबैभन्दा लामो पद्य एस्तर ८:९ हो ।
#बाइबल मा सबैभन्दा छोटो पद्य युहन्ना ११:३५ हो ।
* पुरानो करारमा " परमेस्वर " या यसको बराबर सब्द " यहोवा " ७,६९८ पटक लेखिएको छ । अथवा "परमेस्वर" १,८५३ पटक लेखिएको छ ।
#एस्तर को पुस्तकमा "परमेस्वर" शब्दको प्रयोग गरिएको छैन । तर सम्पुर्ण पुस्तकको अध्यायहरुमा बुद्दी , ज्ञान, पबित्रता र प्रेम उल्लेख गरिएको छ ।
तर सौभाग्य को कुरा आज हामिले आफ्नै सरल नेपाली भासामा बाइबललाई पढ्न पाएका छौँ । हामिले आफैलाई भाग्यमानी सम्झौं । कि बाइबल यो अवस्था सम्म आईपुग्न कति मानिसहरुले आफ्नो प्राण गुमाएका छन जेल चलान गरिएको छ, बनिबास भएका छन, अनएकौं दु:ख कस्ट भोगेका छन । तर तपाईं र मैले कुनै सतावट बिना नै बाइबल पढ्न पाइरहेका छौं
तपाईले कहिले सोच्नुभएको छ ? कि बाइबल पहिलो ३ भासामा लेखिएको थियोे । १, ग्रिक २, आरमाइक ३, हिब्रु
# पुरानो करार ग्रिक आरमाइक भासामा लेखिएको थियो भने,
# नयाँ करार हिब्रु भासामा लेखिएको थियोे ।
अनि पुरानो करार र नयाँ करार बिचको अवधी ४०० बर्स रहेको छ । जमा ४० जना लेखकहरु द्वारा लेखिएको बाइबल पूरा लेखिसक्नु लाई १६०० बर्स लागेको थियोे । बाइबल को लेखक हरु कोहि मछुवा कोहि गोठालो त कोहि डाक्टर आदि थिए । बाइबल पबित्र आत्माको सक्तिले मानिस द्वारा लेखिएको थियोे ।
अर्को कुरा ती तीन भासालाई अंग्रेजी मा अनुबाद गर्नलाई हिब्रु भासा पुरै अनि अंग्रेजी पनि पुरै, आरमाइक भासालाई अंग्रेजी मा अनुबाद गर्न आरमाइक र अंग्रेजी दुबै भासा जानेको त्यस्तै गरि हिब्रु भासालाई अंग्रेजी मा अनुबाद गर्न हिब्रु भासा र अंग्रेजी दुबै भासाको ज्ञान भएको मानिस हुन पर्थ्यो । अनि अंग्रेजी लाई नेपालिमा अनुबाद गर्न त्यो मानिसले अंग्रेजी र नेपाली भासा पुरै जानेको हुन पर्थ्यो । अनि बल्ल अंग्रेजी भासाको बाइबल लाई नेपालिमा अनुबाद गर्न सक्षम हुन्थ्यो ।
हेर्नुहोस, सोच्नुहोस बाइबल त्यति सजिलै हाम्रो हात सम्म आइपुगेको छैन । त्यसको लागि धेरै त्याग र तपस्या हाम्रो अग्रज हरुले गरेका छन । बाइबल लाई नस्ट गर्न खोज्नेहरु आफै पतन भएका छन । कतिले अन्त्यमा येसु सत्य हुन भनी पस्चताप गरेर मरेका छन । तर आज तपाइँ र मैले बिना सतावट नैं स्वतन्त्र रुपमा बाइबल अध्ययन गर्न पाईराखेका छौँ । प्रभुलाई धन्यवाद होस । यो सौभाग्य को निम्ति !!
अन्त्यमा - यि सब बाइबल को बिवरणहरु गुगल बाट मैले लिएको हुँ । हामी बिस्वासिहरुको बाइबल अध्ययन को उत्साहको निम्ति । आसा छ यहाँ बाट तपाईले केही ज्ञान प्राप्त गर्नु भएको छ । भुल चुक माफ पाउँ । जयमसिह !!

Sunday, November 1, 2015

निरन्तर को बाइबल अध्ययन ले आफुमा परिवर्तन को महसुस गर्नुहोस !!

यहाँ फोटोमा तपाईं देख्दै हुनुहुन्छ । म र रेस्लर रोमन रिङ्ग लाई, मेरो बडि हेरि रोमनको बडि धेरै ज्याङ्गो यानिकी ठुलठुला छन । कारण थाहा छ तपाईहरुलाई ? आखिर हाम्रो शरीरमा नसाहरु उति नै छन, र हाम्रो सरिरको हड्डीहरु को संख्या पनि बराबर त्यही २०६ ओटा नै छन ।
तर फरक यति हो कि किन रोमन को बडि निकै सकृय र ठुलो देखिन्छ ? मेरो भने निष्क्रिय र सानो देखिन्छ ? किनकी रोमनले आफ्नो बडि ठूलो बनाउन को लागि डाइट गर्छन प्रत्येक दिन आफ्नो बडिको निम्ति समय समयमा सारिरिक ब्यायाम पनि गर्छन त्यसकारण उहाँको बडि सक्रिय र ठुला भएका छन ।
अर्को तिर म मेरो बडिको ख्याल राख्दिन समय समयमा ब्यायाम अनि प्रोटिन युक्त खानाहरु खादिन अन्ततः मेरो बडि निष्क्रिय र सानो भएको छ । आखिर हाम्रो शरीरमा नसा र मांसपेशी अनि हड्डीहरु भने बराबर नै छन तर जस्ले आफ्नो स्वास्थको ख्याल गरि दैनिक सरिरको ख्याल गर्छन तिनीहरु हेर्दै लोभ लाग्दा र सक्रिय देखिन्छन् र हुन्छन पनि ।
यहाँ मैले तपाईहरुलाई बताउन खोजेको प्रसङ्ग अर्कै छ कि परमेस्वरले पनि तपाईं र मलाई उहाँकै स्वरुपमा उहाँकै प्रतिरुपमा सृष्टि गर्नु भएको छ । तपाईं र मेरो सरिरमा उतिनै नसा मांसपेशी र हड्डिहरु अनि दिमाग छ । हामी अरु प्रभुका जनहरुलाई हेरेर यो त कत्ती बाइबल को बारे जान्ने छ मलाई त बाइबल को बारे केही आउदैन म केही जान्दिन भनेर आफैलाई आफ्नो आत्मबल कमजोरी नबनाउँ तर जसरी निरन्तरको को सारिरिक ब्यायामले रेस्लर खेलाडीहरुको शरीर सक्रिय र ठुलठुला हुन्छन । त्यसरी नै हामी पनि दैनिक बाइबल अध्ययन र खोज अनुसन्धान बाट अरु बाइबल बिदहरु जस्तै बन्न सक्छौं ।
तर हामिमा निरन्तर लगनशीलता भने हुन जरुरी छ । सबैले एकै पल्ट जानेर आएका छैनन । ती हाम्रा अग्रजहरु ले पनि धेरै बाइबल अध्ययन खोज अनुसन्धान बाट नै ती सब ज्ञान हाँसिल गरेका हुन । हामी पनि बाइबल पढौं सकेसम्म सेवा संगतिमा जाने कोसिस गरौं हाम्रो आत्मिक वृद्धिमा परिवर्तन आफै आउँछ । जस्तै निरन्तर को ब्यायाम ले शरीर मा परिवर्तन आउँछ ।
किन भने परमेस्वरले तपाईं र मलाई उतिनै सरिरको अंगहरु दिनुभएको छ । अब ती अंगहरुलाई कसरी चलाउने त ? त्यो तपाईं र मेरो जिम्मामा छ । त्यसकारण प्रभुको राज्यको खोज हामी निरन्तर गरौं आत्मिक युद्दको निरन्तर अभ्यास गरौं । निरन्तरको आत्मिक अभ्यासले हाम्रो आत्मिक जिवनमा अवस्थ परिवर्तन आउने छ । अनि पहिलाको जीवन भन्दा बिस्वास र निरन्तर बाइबल अध्ययन खोज अनुसन्धान पछिको जीवन मा पक्का हामी ठूलो परिवर्तन को अनुभव गर्नेछौं ।
जब हामी शरीरमा भन्दा बाहिर आत्मामा मन लगाउछौं नि तब हामिले अर्कै दु:ख अनि आनन्द को महसुस गर्छौं । किनकी हामी सारिरिक कुराको चिन्ता र फिकृले आफ्नो आत्मालाई भने पल पल तड्पाई रहेका हुन्छौं । परमेस्वरको बचनले भन्छ शरीरमा मन लगाउनु मृत्यु हो भने आत्मामा मन लगाउनु चाहिँ जीवन हो ।
अन्त्यमा : आउनुहो हामी धार्मिकताको खोजी गरौं जसरी निरन्तर को सारिरिक ब्यायाम ले हाम्रो सरिरको ढाँचा बदलिन्छ त्यसरी नै निरन्तरको बाइबल अध्ययन र ईस्वरको तिर्खाले हाम्रो आत्मिक जीवनलाई पल पल सृष्टि कर्ताको सामु लगिरहेको हुन्छ । साँगुरो बाटोमा डोर्याइरहेको हुन्छ । अनि हामी पनि आत्मिक जीवन प्रती उत्सुक र ज्ञानी बन्छौं ।धन्यवाद ! जयमसिह !!
( यो मेरो ब्याक्तिगत बिचार हो, भुल चुक माफ पाउँ )